२०८३ श्रावण ९ गते , शनिबार

बिर्तामोड खानेपानीको कार्यप्रगति सार्वजनिक, थप व्यवस्थित बनाइने

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ८ गते , शुक्रबार
बिर्तामोड खानेपानीको कार्यप्रगति सार्वजनिक, थप व्यवस्थित बनाइने

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वर्तमान नेतृत्वले गरेको कार्यप्रगति फेहरिस्त सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी संस्थाले १६ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा संस्थाले सेवा तथा गुणस्तर सुधार , प्रविधिको उच्चतम प्रयोग गरेको र उपभोक्ता समेत रहेको भन्दै  अध्यक्ष मेघराज बास्तोलाले पत्रकार सम्मेलनमार्फत आफू नेतृत्वको समितिले  कार्यकालमा भए गरेका कार्यप्रगति १६ वटा बुँदामा सार्वजनिक गरेका हुन् ।
बाँस्तोलाले सार्वजनिक गरेका कार्यप्रगतिहरु यस्तो छ -
१. यस संस्थाले बिर्तामोड नगरपालिकाका सबै १० वटै वडा र छिमेकी नगरपालिका अर्जुनधाराका वडा नं. ११, ६ र ५ का केही भागमा ३ थान ओभरहेडबाट र थप २ ठाउँको आयोजनाबाट पानी वितरण गरी लगभग ५७५ किलोमिटर पाइपलाइनबाट ११ हजार धारामार्फत उपभोक्तालाई शुद्ध पानी २४ सैं घण्टा वितरण गरिरहेको छ । यस संस्था अन्तर्गत उपभोक्ता (ग्राहक/धारा) संख्या ११ हजार भए पनि करिब एक लाख जनसंख्याले प्रत्यक्ष रुपमा खानेपानी उपभोग गरिरहेका छन् ।
२. यस संस्थाको सेवा क्षेत्र अन्तर्गत पूर्वमा चारआलीस्थित देउनिया पुलबाट पश्चिम लक्ष्मीपुर घाग्रा पुलसम्म दुवैतर्फ एसियन हाइवे निर्माणको क्रममा पुरानो पाइपलाइन क्षति पुगेको छ । उक्त स्थानमा दुवै तर्फ ६/६ किलोमिटर नयाँ पाइपलाइन १६० एमएमदेखि ११० एमएमसम्मको पाइप कालिका कन्स्ट्रक्सन प्रा.लि. बाट विस्तार भइरहेको छ।
३. शनिश्चरे रोडमा २ किलोमिटर पाइप संस्थाको लगानीमा विस्तार भएको छ। शनिश्चरे रोडदेखि महानन्द चोकसम्म बाटो निर्माणको क्रममा नयाँ पाइपलाइन पूर्वतर्फ २५० एमएमको एच.डी.पी.ई. पाइप र पश्चिमतर्फ १६० एमएमको एच.डी.पी.ई. पाइप विस्तार तथा जडान गरिएको छ ।
४. सिटी सेन्टर पश्चिमबाट दक्षिण गरामनी जोड्ने हर्कलाल मार्गअन्तर्गत सडक निर्माण भइसकेको ठाउँमा लगभग २ किलोमिटर दुवैतर्फ १६०एमएमको एच.डी.पी.ई. पाइपलाइन विस्तार भइसकेको छ ।
५. ट्यांकी नं. १ स्थित पूर्वतर्फ साढे पाँच धुर (०–०–५.५) जग्गा खरिद गरी १ थान डिप बोरिङ गर्ने कार्य सम्पन्न गरी उक्त जग्गा घेराबारा गरिएको छ ।
६. नयाँ पाइपलाइन विस्तार भएर शाखा कनेक्सनमा राखिएका भल्वहरुलाई चेम्बर निर्माण गरी ढकन समेत जडान गरिएको छ ।
७. ओ.एच.टी.–२ (अर्जुनधारा–६) मा गत आ.व.मा जग्गा खरिद गरी डिप बोरिङ भएको ठाउँमा थप फिल्टर प्लान्ट जडान गरी तथा २०० के.भि.ए. को ट्रान्सफर्मर राखी पानी उत्पादन गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
८. विराटपोखर (स्किम नं. ५) स्थित बोरिङबाट आएको पानीलाई प्राविधिक अध्ययन गरी थप १ थान फिल्टर प्लान्ट राखेर पानी शुद्धीकरण गरी गरामनी र सैनिक बजारतर्फ शुद्ध पानी वितरण भइरहेको छ।
९. यस संस्थाले थप पाइपलाइन विस्तार गरामनी बजार हुँदै बिर्तामोड न.पा. वडा नं. ८ मा र अन्य सेवा दिइरहेको शाखा बाटोका उपभोक्ताहरुको माग बमोजिम विभिन्न ठाँउमा ६३ एमएम, ५०एमएम / ४०एमएमको एच.डी.पी.ई. पाइप लगभग ५२ किलोमिटर विस्तार तथा जडान गरी ग्रामीण क्षेत्रका उपभोक्तासम्म धारा वितरण गरिएको छ ।
१०. यस संस्थाले धारा जडान गरेका प्रत्येक उपभोक्ताको घरमा उपभोक्ता ग्राहक नं./ क्युआर कोडसहित (हाउस नम्बर प्लेट) प्रिन्ट गरी लगाउने कार्य भइरहेको छ ।
११. पानीको थप उत्पादन वृद्धिका लागि अर्जुनधारा–११ स्थित स्किम नं. ४ मा १ थान डिप बोरिङ राख्नका लागि आवश्यक कार्य भइरहेको छ ।
१२. यस संस्थाको कार्य क्षेत्रभित्र विस्तार गरिएका पाइपलाइन / भल्व / चेम्बर/ पम्प, प्रशोधन केन्द्र र ट्यांकीसहित समग्र संरचना एउटै जी. आई.एस. नक्सामा हेर्न सकिने, नक्सामा पाइपलाइनहरुको जडान मिति र जीवनका उपयोगी पक्षको अध्ययन गर्न सकिने तथा सम्भावित परिवर्तनहरु, पाइपलाइनहरु थप्ने, अव्यवस्थित पाइपलाइनहरु पुनः जडान गर्ने जस्ता कामलाई सजिलो बनाउने हुँदा उक्त कार्यलाई निरन्तरता दिइएको छ ।
१३. महानन्द चोकदेखि माता मन्दिरसम्म दुवैतर्फ ११० एमएमको २ किलोमिटर पाइप विस्तार गरिएको छ ।
१४. ट्यांकी नं. २ बाट १०० मिटर पूर्वतर्फ ०–०–१२ (बाह्र धुर) जग्गा खरिद गरी १ थान डिप बोरिङ निर्माण कार्य गरेर थप १ थान फिल्टर प्लान्ट जडान गरी ३ सेट पम्प र फिल्टर प्लान्ट एकै साथ सञ्चालन गरी पानीको स्रोत वृद्धि गरिएको छ।
१५. ओभरहेड ट्यांकी उत्तर सगरमाथा चोकबाट पूर्व धर्मकाटा रोडसम्म १६० एमएमको एच.डी.पी.ई. पाइप लाइन ४५० मिटर विस्तार गरिएको छ।
१६. बढ्दो जनसंख्या र पानीको मागलाई ध्यानमा राखेर सेवा क्षेत्रका सबै घरपरिवारसम्म शुद्ध खानेपानीको पहुँच पुऱ्याउन थप पानी उत्पादनको स्रोत खोजी गर्ने कार्यमा वर्तमान कार्यसमिति निरन्तर लागिरहेको जानकारी गराउँदछौं ।
बिर्तामोडमा बढ्दो पानीको मागलाई ध्यानमा राख्दै टेकबहादुर गिरी बसपार्कमा थप एउटा आयोजना विस्तार गर्नका लागि बोरिङ जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको हुँदा उक्त आयोजनालाई ६ नं. आयोजनाको नामबाट सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । यसैगरी, बिर्तामोड नगर क्षेत्रभित्र सञ्चालनमा आएका र नआएका अन्य खानेपानीहरुलाई पनि एकीकृत सामुदायिक खानेपानीको अवधारणा अनुसार एकीकृत गर्दै लगिने बताए । साथै निकट भविष्यमा चारपाने चौकबाट दक्षिण बाह्रदशी र हल्दीबारी सिमानासम्मका उपभोक्ताहरुलाई पानी उपलब्ध गराउने उद्देश्यले उक्त क्षेत्रमा पनि थप एउटा आयोजना सञ्चालनमा ल्याउने उनको योजना रहेको छ । बिर्तामोड नगरपालिकाका छैठौँ तहका अधिकृत बास्तोलाले आगामी भदौदेखि पूर्ण रुपमा सामाजिक सेवामा क्रियाशील रहने बताएका छन ।
अध्यक्ष बाँस्तोलाले बिर्तामोड खानेपानी संस्थामा देखिएका समस्या तथा चुनौतिहरु समेत प्रस्तुत गरेका छन् । जथाभावी रुपमा गरेको जग्गाको प्लटिङ, बाटो, ढललगायतको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइपलाइनमा अत्याधिक क्षति पुग्ने गरेको ,विगत ३० वर्ष अगाडि विस्तार गरिएको पाइपलाइन तथा भल्व चेम्बरहरु हाल शहरीकरण र सडक विस्तार गरिएकाले धेरै क्षेत्रमा पाइप बढी गहिराइमा परेको तथा सडकको बीचमा परेकाले पाइपलाइन मर्मत तथा नयाँ धारा जडानमा कठिनाइ उत्पन्न हुने गरेको , तीव्र शहरीकरणका कारण सेवा क्षेत्रमा बसाइँ सरी आउनेको संख्या धेरै भई उपभोक्ताको माग बमोजिम पानी उपलब्ध गराउन कठिनाइ भएको, हाल पूर्वपश्चिम राजमार्ग एशियन हाइवेको निर्माण कार्य धमाधम भइरहेकोले उक्त निर्माण कार्यबाट संस्थाको पाइप लाइनमा ठूलो क्षति पुग्नुका साथै पानी आपूर्तिमा समेत अवरुद्ध हुने र उपभोक्ताहरु शुद्ध पानीबाट बञ्चित हुनु परेको बताएका छन् ।

सम्बन्धित समाचार