सरकारले देशलाई फाँसीवादतर्फ लैजान खोजिरहेको छ : आङ्बो
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले वर्तमान सरकारले देशलाई फाँसीवादतर्फ लैजान खोजिरहेको बताएका छन् । बिहीबार बिर्तामोडमा प्रेस सेन्टर नेपाल झापाद्वारा आयोजित डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै आङ्बोले त्यस्तो बताएका हुन् ।
‘सरकारले बनाएको तथाकथित संविधान संशोधन कार्यदलले संविधानको मुलमर्मलाई नै सिध्याएर संविधान नै पुनर्लेखन गर्ने र राज्यलाई सन्तुलनमा राख्ने निकाय र संवैधानिक निकायमाथि कब्जा गरेर उहाँहरु राज्यलाई फाँसिवादतर्फ लैजान खोजिरहनु भएको छ,’ उनले भने । यदि सरकारले संविधान र व्यवस्थाको विरुद्धमा कार्य गरेमा संघर्ष गरेर प्रजातन्त्र जनतालाई प्रत्याभूति गराउने आन्दोलनबाट आएको पार्टी भएको हैसियतले सदन र सडकबाट सरकारको प्रतिवाद गर्ने चेतावनी दिए । उनले अहिलेको ठूलो जनमत भएको पार्टीले जनभावनाको कदर गरेर राहतको कार्यक्रम ल्याउनुको साटो जनताको ढाड सेक्ने गरी कर थोपरेर जनभावना विरोधी काम गरिरहेकोसमेत आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथी आङ्बोले कोशीमा नेपाली कम्युनिष्ट पार्टी प्रतिपक्षमा नै रहन चाहेको भएपनि नेपाली कांग्रेसले कम्युनिष्टसँग प्रदेशमा सहकार्य गर्न नचाहेका कारण राजनैतिक संकट टार्न र मध्यावधिबाट बचाउन प्रदेशमा एमालेसँग सहकार्य गर्न तयार भएको बताए । तर, प्रदेश सरकारको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीको दाबी रहने उनले दोहोर्याए । सरकारमा सहकार्य गर्ने अवस्था आएमा अन्य दलहरुलाईसमेत समेटेर अगाडी बढ्नेसमेत उनले बताए ।
कार्यक्रममा डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार कनकाई ४ निवासी ठोस खबर डटकमका सञ्चालक चुडामणि तिम्सिना (सिएम शर्मा)लाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी आङ्बो, अध्यक्ष पुष्प खड्कासहित अन्य अतिथीहरुले पुरस्कार राशी ४२ हजार र सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए । जनपक्षीय पत्रकार स्व. देवकुमार आचार्य (डी कौडिण्य)को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार प्रत्येक बर्ष साउन ७ गते क्रियाशील जनपक्षीय पत्रकारलाई प्रदान गर्ने गरिएको छ ।
कार्यक्रमकै बिच पुरस्कृत शर्माकी श्रीमति सुनिता खरेल तिम्सिना र स्व. आचार्यकी धर्मपत्नी यमुना आचार्यलाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रादेशिक सञ्चार प्रतिष्ठान कोशीका सदस्य अर्जुन राजवंशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेकपा झापा संयोजक खड्ग तिम्सिना (पवन), प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई (दिपेन्द्र), समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तिर्थ सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर केन्द्रीय सदस्य राजु पाठक, कोशीका कार्यवाहक अध्यक्ष सुजन तिम्सिना, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने, नेकपाका विभिन्न तहका नेताहरु, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल, पर्यटन पत्रकार मञ्च झापा अध्यक्ष विनोद पाण्डे, पूर्व पुरस्कृत व्यक्तित्वहरु, विभिन्न प्रेस क्लबका अध्यक्ष तथा प्रतिनिधीसहित पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वर्गीय आचार्यको जीवनी वाचन गरेका थिए भने सहभागीहरुलाई सहसचिव राजन साम्पाङले स्वागत गरेका थिए । कार्यक्रम सचिव प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।