कारको ठक्करपछि मोटरसाइकलले ठक्कर दिँदा घाइते साइकल यात्रीको मृत्यु
बिर्तामोड । झापाको दमकमा कारको ठक्करपछि मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ । दमक नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ५३ वर्षीय रनबहादुर बिष्टको उपचारको क्रममा मृत्यु भएको हो ।
हिजो साँझ अन्दाजी ५:३० बजेको समयमा दमक नगरपालिका ४ भाईरल रोड (संगम चोक) स्थित भित्री सडक खण्डमा आम्दाबाट ताराबारी तर्फजादै गरेको प्रदेश न.१-०२-००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जादै गरेको साईकल यात्री विष्टलाई सामान्य ठक्कर दिई साईकल अनियन्त्रीत हुँदा सोही दिशाबाट जादै गरेको प्रदेश न.१-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा साईकल यात्री विष्ट गम्भीर घाइते भएका थिए ।
उनको आम्दा अस्पताल खरखरेमा उपचार पश्चात् थप उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेकोमा आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक झापा मेचीनगर ८ बस्ने बर्ष ४६ को दुर्गा बहादुर बस्नेतको निधार, दुबै हात, खुट्टामा चोट बोल्न सक्ने अवस्थामा आम्दा अस्पताल खरखरे दमकमा उपचारपश्चात् बिर्तासिती अस्पताल बिर्तामोडमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साईकल, मोटरसाइकल, कार, कार चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने बर्ष ४० को नेत्र प्रसाद तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।