जिल्ला अदालत झापाबाट ६० प्रतिशत मुद्दा फर्छ्यौट
बिर्तामोड । जिल्ला अदालत झापाले ६० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । गत आव २०८२/८३ मा अदालतले ४५३५ मुद्दाको निर्णय गरेको हो ।
गत आव २०८२/८३ मा अघिल्लो आव ०८१/८२ बाट जिम्मेवारी सरी आएका ३२३२ र गत आवमा दर्ता भएका ४३१७ समेत गरी ७५४९ थान मुद्दा मध्ये ४५३५ मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत झापाका शाखा अधिकृत एवम् सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । चालु आवमा ३०१४ मुद्दा जिम्मेवारी सरिआएको उनले बताए ।
उनले गत बर्षको भाद्र २३ र २४ को आन्दोलनको प्रभाव, सोबाट अदालतको सूचना प्रणालीमा भएको अवरोध, संघीय संसदको निर्वाचन आदि कारणले गर्दा लक्ष्य अनुसार मुद्दा फर्छौट हुन नसकेको अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए । जिल्ला अदालत झापाले ६५% मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।
प्रमुख न्यायाधीश लुईटेलले छिटो छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने लक्ष्यका साथ २०६१ सालदेखि रणनीतिक योजना कार्यान्वयनमा आएकोमा हाल पाँचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको बताए । उनले झापा जिल्ला अदालतले निष्पक्ष, छिटोछरितो, सरल न्यायसम्पादनमा जोड दिने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेकोसमेत बताए ।