२०८३ मंसीर २ गते , बुधबार

झापामा राधिका फाउन्डेसनद्वारा पुराण आयोजना हुँदै

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर १ गते , मंगलबार
झापामा राधिका फाउन्डेसनद्वारा पुराण आयोजना हुँदै

बिर्तामोड । झापामा राधिका फाउन्डेसनले श्रीमद्भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । असहाय तथा अनाथ बालबालिकाको संरक्षण, शिक्षा र आवास व्यवस्थापनसंगै सामाजिक , धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासको लागि रकम जुटाउने उद्धेश्यले पुराण आयोजना गर्न लागिएको हो । 
आश्रित बालबालिकाको शिक्षादिक्षा, संरक्षण तथा संस्थाको निर्माणाधीन भवन निर्माण कार्यलाई पूर्णता दिने उद्धेश्यले फाउन्डेसनले कनकाईमा श्रीमद्भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ।
कनकाई नगरपालिका–६ मन्सापुरस्थित राधिका फाउन्डेसनको निर्माणाधीन भवनमा मंसिर १२ देखि २१ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञबाट संकलित सहयोग भवन निर्माण पूरा गर्न र संस्थामा आश्रित बालबालिकाको शिक्षा तथा संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ।
फाउन्डेसनकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासीका अनुसार संस्थामा हाल १७ जना अनाथ तथा असहाय बालबालिका आश्रित छन्। उनीहरू भाडाको घरमा बसेर सुरुङ्गास्थित पशुपति अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन्। आफ्नै भवन नहुँदा बालबालिकाको आवास र शैक्षिक व्यवस्थापनलाई व्यवस्थित गर्न कठिनाइ भएपछि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको उनले बताइन्।
स्थानीय शान्तिराज प्रसाईंले उपलब्ध गराएको अढाई कठ्ठा जग्गामा फाउन्डेसनको तीनतले भवन निर्माण भइरहेको छ। भवन निर्माण पूरा गरी बालबालिकाका लागि सुरक्षित आवास र अध्ययनको वातावरण तयार गर्नु महायज्ञको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
मंसिर १२ गते कलश शोभायात्रासहित महायज्ञ सुरु हुनेछ। मंसिर १३ देखि २१ गतेसम्म भागवत मञ्जरी राधिका दासीले कथा प्रवचन गर्नेछिन्। प्रत्येक साँझ गंगा आरतीसमेत गरिने कार्यक्रम संयोजक तथा कनकाई–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए। महायज्ञमा नेपाल तथा अन्तर्राष्ट्रियस्तरका धार्मिक गुरु, सन्तमहन्त, गायक–गायिका र कलाकारको सहभागिता रहने उनले बताए।
महायज्ञ सम्पन्न गर्न २२ देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले करिब दुई करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार