पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित सञ्चारमाध्यम ‘पूर्वाञ्चल दैनिक’ आजबाट ३२ औँ वर्षमा प्रवेश गरेको छ ।
स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रिय महत्वका घटनाक्रमहरूलाई सन्तुलित तवरले प्रस्तुत गर्दै आएको यस पत्रिकाले विभिन्न आरोह–अवरोह र चुनौतीहरूलाई चिर्दै नयाँ ऊर्जा र प्रविधिका साथ तीन दशक पार गरेको हो ।
२०५२ साल मङ्सिर १ गतेबाट नियमित प्रकाशन सुरु गरी स्थापनाकालमा सीमित लेटर प्रेसको ढाँचाबाट अगाडि बढेको पूर्वाञ्चल दैनिकले मोफसलमै पहिलोपटक अत्याधुनिक अफसेट प्रविधि भित्र्याएर नेपालको पत्रपत्रिका इतिहासमा एक महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको थियो ।
प्रेस काउन्सिल नेपालबाट निरन्तर ‘क’ श्रेणी प्राप्त गरी आफ्नो विश्वसनीयता साबित गरिसकेको श्रीअन्तु प्रकाशन प्रालि अन्तर्गत प्रकाशित पूर्वाञ्चल पत्रिकाले समयको परिवर्तनसँगै आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ । हाल प्रिन्ट संस्करणसँगै डिजिटल माध्यमबाट समेत पत्रिकाले आफ्ना समाचार पाठकमाझ पुर्याउँदै आएको छ।आगामी दिनमा ‘नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारिता’ को मर्मलाई आत्मसात् गर्दै राष्ट्रहितको पक्षमा पैरवी गर्ने र समाजलाई थप उत्तरदायी तथा जवाफदेही बनाउन खबरदारीको भूमिकालाई अझ सुदृढ रूपमा निरन्तरता दिने प्रतिबद्धता पूर्वाञ्चल दैनिकले व्यक्त गरेको छ ।