२०८३ मंसीर २ गते , बुधबार

प्रधानमन्त्री शाहका सचिवालय सदस्यको जिम्मेवारी हेरफेर

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ३० गते , सोमबार
प्रधानमन्त्री शाहका सचिवालय सदस्यको जिम्मेवारी हेरफेर

झापा । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको कार्यसम्पादन समीक्षा गर्दै जिम्मेवारी हेरफेर गरेका छन् ।
नयाँ व्यवस्थाअनुसार सहसचिव सरहको सेवा सुविधा पाउने गरी पाँच जनालाई विभिन्न क्षेत्रका संयोजक र उपसचिव सरहको सुविधा पाउने गरी पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।
यसअघि सचिवालयमा संयोजक र उपसंयोजक तोक्ने अभ्यास थिएन ।
जिम्मेवारी हेरफेरअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक, सन्तोष गिरीलाई अन्तर निकाय समन्वय संयोजक, विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजक, दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक र विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक तोकिएको छ ।
यसअघि उपसचिव सरहको पदमा रहेका अधिकारीको बढुवा भएको हो भने दाहालको जिम्मेवारीबाट अनुसन्धान विज्ञको भूमिका हटाइएको छ ।
यस्तै, सहसचिव सरहको सूचना प्रविधि विज्ञका रूपमा कार्यरत माधव खनाललाई भने सचिवालयको सूचीबाट हटाइएको छ ।
उपसंयोजकको जिम्मेवारी पाउनेहरूमा सुमन गौतम (नागरिक उड्डयन समन्वय), रविकिरण अधिकारी (सामाजिक विकास समन्वय), प्रकृति ढकाल (स्वास्थ्य समन्वय), विनय शाक्य (संस्कृति तथा सम्पदा समन्वय) र दिपकप्रसाद ओली (नीति मस्यौदा अध्ययन) रहेका छन् ।
सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले पदभार ग्रहण गरेयताको कार्यसम्पादनका आधारमा केहीलाई बढुवा र केहीलाई जिम्मेवारी हेरफेर गरिएको हो ।
सचिवालयको माथिल्लो तहका सल्लाहकारहरू भने यथावत् छन् । मन्त्री सरहका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल (अवैतनिक) आ-आफ्नै जिम्मेवारीमा कायम छन् ।
त्यस्तै, राज्यमन्त्री सरहका सल्लाहकारमा सुदीप ढकाल (नीति, प्रशासन तथा सुशासन) र विवेक मिश्र (सूचना तथा सञ्चार प्रविधि) तथा प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी यथावत् रहेका छन् ।
यसैगरी, अधिकृत सरहको पदमा सुरेन्द्र बजगाईं (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइनर), बेदानन्द जोशी (मिडिया व्यवस्थापन) र हेमनारायण चौधरी (कृषि क्षेत्र समन्वय) कार्यरत छन् ।
नायब सुब्बा सरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् । कार्यविधिअनुसार ४८ जनासम्म नियुक्त गर्न सकिने व्यवस्था भए पनि हाल प्रधानमन्त्री शाहको सचिवालयमा २६ जना मात्र कार्यरत छन् ।

 

सम्बन्धित समाचार