जिम्स फिटनेस सेन्टरद्वारा बोनम्यारो रोगीलाई सहयोग
बिर्तामोड । बोनम्यारो रोगबाट पिडीत ५ बर्षीय बालकलाई देउसीभैलोबाट संकलित रकम सहयोग गरिएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा रहेको जिम्स फिटनेस सेन्टरले तिहारको अवसर पारेर आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलित ३० हजार रुपैयाँ सहयोग गरेको हो ।
बोनम्यारो ट्रान्सप्लान्ट गरेका बिर्तामोड–५ का ५ बर्षीय बालक उज्वल ठाकुरको परिवारलाई सेन्टरले शनिवार देउसीभैलो कार्यक्रमबाट संकलित नगद ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेती, सेन्टरकी सल्लाहकार पार्वता गिरी, सदस्य निशा तामाङ उप्रेती, शान्ता गिरी, नेम्सु तामाङले संयुक्त रुपमा देउसीभैलोे कार्यक्रमबाट संकलित उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बिभिन्न सामाजिक कार्य गर्दै आएको सेन्टरका सञ्चालक जेम्स उप्रेतीले बालकको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अन्य संघसंस्थासँग पनि समन्वय गरेर सहयोग गर्ने आश्वासन समेत दिए ।
छोरा उज्वलको उपचारमा करिव ८० लाख रुपैयाँ खर्च भइसकेको बालककी आमा पिङ्की राजवंशी ठाकुरले जानकारी दिइन् । बालक उज्वल जन्मिएको ७ महिनादेखि बोनम्यारो रोगबाट पिडीत भएको उनको भनाई छ । बालककी आमा पिङ्कीले देश तथा बिदेशमा रहने सवै मनका धनीलाई सहयोग गरेर छोराको जीवन बचाईदिन आग्रह गरेकी छिन् । आमा पिङ्कीले आँखाभरी आसु झार्दै भनिन् ‘म पनि बिरामी नै छु, तर, छोराको पिरले गर्दा आफ्नो रोग लुकाउन बाध्य छु ।’
बालकका बुबा मुकेश ठाकुर बिर्तामोडमा सैलुन सञ्चालन गर्दै आएका थिए । छोरा बिरामी भएसँगै सैलुन बन्द गरेर आफुसँग भएको जायजेथा र आफन्तहरुसँग ऋणलिएर भारतमा छोरा उज्वलको बोनम्यारो टान्सप्लान्ट गराएपनि अहिलेसम्म इन्फेक्सन भइरहने समस्या रहेको र बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेको बताए ।
सहयोग गर्न चाहनेहरुले बिरामीका पिता मुकेश ठाकुरको नाममा ग्लोवल आइएमई बैंकको बिर्तामोड शाखामा रहेको खाता नम्बर ०७७०७०१०००७९५८ मा गर्न सकिनेछ ।