नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक महिला महामन्त्री बनिन् संग्रौला
विराटनगर । नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक महिला महामन्त्री बनेर नेतृ डिला संग्रौलाले नयाँ कीर्तिमान रचेकी छन्। पार्टीको महाधिवेशनबाट केन्द्रीय महामन्त्री (महिला) पदमा निर्वाचित भएसँगै कांग्रेसको मुख्य नेतृत्व तहमा महिला उपस्थितिको नयाँ अध्याय सुरु भएको हो।
ऐतिहासिक जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित महामन्त्री संग्रौलाले यस सफलताले आफूलाई खुसीसँगै थप जिम्मेवारीको गहिरो बोध गराएको बताइन्। उनले कांग्रेसलाई बदलिँदो समयअनुसार नयाँ उचाइ र दिशामा अघि बढाउने प्रतिबद्धता जनाइन्। ‘युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने हाम्रो महान् अभियानमा म प्रतिबद्ध भएर लाग्नेछु,’ उनले भनिन्।
आफ्नो यो जितलाई उनले व्यक्तिगत सफलताभन्दा पनि समग्र महिलाहरूको सान, योगदान र गौरवका रूपमा अर्थ्याइन्। नेपाल महिला संघको लामो यात्रा स्मरण गर्दै उनले आफूलाई विश्वास गर्ने सम्पूर्ण महिला मतदाता दिदीबहिनीहरूलाई धन्यवाद दिइन्।
संगठनमा लामो अनुभव सँगालेकी संग्रौलाले विगतमा नेपाल महिला संघको अध्यक्ष तथा करिब आठ महिना पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्। संगठनका विभिन्न तहमा काम गरिसकेकाले अबको भूमिका झनै सशक्त हुने दाबी गर्दै उनले पार्टीका आगामी योजना र कार्यक्रमलाई सफल बनाउन आफू पूर्ण रूपमा समर्पित रहने दृढता व्यक्त गरिन्।