कार्तिक १ गते चारपानेमा साङ्गीतिक कार्यक्रम आयोजना हुँदै
बिर्तामोड । झापाको बिर्तामोड-२ स्थित चारपाने चोकमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैंको अष्टमीका दिन अर्थात् कार्तिक १ गते आइतबार जेम्स फिटनेस सेन्टरले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
आज पत्रकार भेटघाट आयोजना गरी जेम्स फिटनेसले कार्यक्रमबारे जानकारी दिएको हो। संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव कायम गर्न कार्यक्रम आयोजना गर्न लागिएको फिटनेसका सञ्चालक जेम्स उप्रेतीले बताए । कार्यक्रम निःशुल्क भएपनि सहयोग पेटिका राखिने र उक्त पेटिकामा संकलित रकम १६ वर्षभन्दा मुनिका क्यान्सर पीडितलाई सहयोग गरिने उप्रेतीले बताए । कार्यक्रममा गायिका जुन रिजाल, गायक रामचन्द्र काफ्ले, टिकटकर तथा डान्सर सिद्धार्थ क्षेत्री लगायत राष्ट्रिय कलाकारहरू सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुने छ ।
फिटनेस सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत चोकको सरसफाई, रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको खर्च विभिन्न व्यक्ति तथा संस्थाहरूले गर्ने शैक्षिक सहयोगबाट जुटाइने र रकम अपुग भए फिटनेस सेन्टरले बेहोर्ने सञ्चालक उप्रेतीको भनाइ छ ।