भारी मतान्तरले काँग्रेस सभापतिमा थापा निर्वाचित
झापा । नेपाली कांग्रेसको काठमाण्डौमा सम्पन्न १५औं महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा विजयी भएका हुन् ।
पार्टीको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भइसकेका छन् ।
अन्य पदको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।