२०८३ आश्विन १४ गते , बुधबार

चिठ्ठा काण्डका घाइतेको अवस्था दयनीय

sajilo news
पुष्प खड्का
२०८३ आश्विन १३ गते , मंगलबार
चिठ्ठा काण्डका घाइतेको अवस्था दयनीय

बिर्तामोड । झापाको बिर्तामोडमा २०६४ सालमा भएको चिठ्ठा काण्डमा गोली लागेर घाइते भएका झापा बिर्तामोड नगरपालिका–६ का विकास केवटको अवस्था दयनीय  बन्दै छ । २०६४ साल असार २ गते बिर्तामोडमा चिठ्ठा उडाउने क्रममा विवाद भएपछि भएको प्रदर्शनमा गोली चल्दा घाइते भएका केवट १९ वर्षदेखि पूर्ण अपाङ्ग भएर थलिएका छन् । २०६४ असार २ गते शनिबार दिउँसो ३ बजेतिर मुक्ति चोकमा गोली चल्दा माइक्रोबस काउन्टरमा कार्यरत केवटको टाउकोमा गोली लागेको थियो । काउन्टरमा काम गरेर घर फर्किने क्रममा कृष्णहल जाने बाटोमा आइपुगेका केवट प्रहरीले चलाएको गोली लागेर ढलेका थिए । टाउकोमा गोली लाग्दा गिदी छरिएर ढलेका केवटलाई मानिसहरुले मृत्यु भइसकेको आशंका गरेका थिए । केवटलाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइए पनि उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि भारतको सिलिगुढीस्थित सुपरस्पेसियालीटि हस्पिटल लगेर उपचार गरेको दाजु सुवास केवटले बताए । उनले भने– 'भाईको उपचार नेपालमा सम्भव नभएपछि भारत पुर्यायौं, तीन दिन पछि मात्रै बल्ल होस आयो ।' 
तीन दिनपछि होस आए पनि केवटको शरीरको देब्रे पाटो चल्दैन भने एउटा आँखाको ज्योति समेत गुमेको छ । ८३ दिन अस्पताल बसेर डिस्चार्ज भएका केवट दुई वर्षसम्म हलचल गर्न नसक्ने अवस्थामा थिए । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र कतैबाट आर्थिक सहयोग नपाउँदा भाईको उपचार राम्रो हुन नसकेको दाजु सुवास गुनासो गर्छन् । यदि समयमा राम्रो उपचार भएको भए भाईको स्वास्थ्यमा सुधार हुनुका साथै जिन्दगीभर औषधि खानु पर्ने थिएन होला भन्छन् सुवास । २०७० सालसम्म ओच्छ्यानमै दिशापिसाब गर्नुपर्ने बाध्यतामा रहेका विकास त्यस यता भित्ता समाएर बरण्डासम्म आउन सक्ने भएका छन् । स्यालडाँगीस्थित भद्रपुर माविको जग्गामा बसोबास गर्दै आएका कमजोर आर्थिक अवस्थाका केवट जिन्दगीभर औषधि खानु र अर्काको सहारामा बाँच्नु पर्दा अत्यन्तै समस्यामा परेका छन् । राज्यले सामाजिक सुरक्षा भत्ता दिने बाहेक अन्य कुनै किसिमको सहयोग नगरेको उनको गुनासो छ ।
उक्त गोली काण्डमा इलामको साङ्ग्रुम्बाका सुवास खत्रीको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका थिए । नवजीवनको शान्ति समाजले सञ्चालन गरेको उक्त चिठ्ठा काण्डमा संस्थाका उउपाध्यक्ष धर्मेन्द्र पोख्रेल र कोषाध्यक्ष कमल पोख्रेल पक्राउ परेका थिए ।
पछिल्लो समय झापामा विभिन्न कम्पनीहरुले बम्पर उपहार दिने नाममा हजारौं सदस्य बनाएर ठगी गर्दै आएका छन् । नेपालमा चिठ्ठा उडाउन प्रतिबन्ध लगाइए पनि बम्पर उपहारको नाममा सेवाग्राहीहरु ठगिँदै आएका छन् । केही दिन अघि बिर्तामोडमा निलकण्ठ नेपाल ट्रेड एण्ड सप्लायर्सले एनके प्युरिफायरको नाममा बम्पर घोषणा कार्यक्रममा नियम विपरित गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । कार्यक्रममा विवाद भएसंगै उनीहरुले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका थिए । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त कम्पनीको विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय अनारमनीलाई निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालयको पत्र प्राप्त भएसंगै इलाका प्रहरी कार्यालय अनारमनीले कम्पनीमा संलग्न कचनकवल–२ झापाका मिलन अधिकारी र अर्जुनधारा–१० का माधव घिमिरेलाई पक्राउ गरी अनुन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनीहरुलाई मंगलबार (आज) दोस्रो पटक अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार