२०८३ आश्विन १३ गते , मंगलबार

असोज २२ र २३ मा मुख्यमन्त्रीहरुको सम्मेलन कोशीमा

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १२ गते , सोमबार
असोज २२ र २३ मा मुख्यमन्त्रीहरुको सम्मेलन कोशीमा

झापा । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको ऐतिहासिक सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो ।
प्रदेश सरकारहरूले भोग्नुपरेका साझा समस्याहरूको पहिचान गर्दै संघीय संरचनालाई थप सबल र सुदृढ बनाउने मुख्य उद्देश्यसहित आयोजना हुन लागेको यस सम्मेलनको सम्पूर्ण तयारी प्रदेश सरकारले तीव्र पारेको छ । सम्मेलनलाई उपलब्धिमूलक बनाउन नीतिगत एजेन्डा तय गर्नेदेखि व्यवस्थापकीय कामसम्मका लागि छुट्टाछुट्टै समितिहरू क्रियाशील बनाइएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक चुनौती, प्रदेशहरूले हासिल गरेका असल अभ्यास तथा अनुभवहरूको आदानप्रदान गरिनेछ । ‘सम्मेलनका क्रममा प्रदेशहरूबीच अन्तरप्रदेश व्यापार, उत्पादनको आदानप्रदान, प्राकृतिक स्रोतको सदुपयोग र पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा ठोस समझदारी जुटाइनेछ,’ मुख्यमन्त्री कार्कीले भने ।
सम्मेलनको समग्र तयारी तथा नीतिगत समन्वयको मुख्य जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । आयोगका उपाध्यक्ष तारानाथ निरौलाको अध्यक्षतामा गठित नीतिगत सिफारिस समितिले कार्यपत्र लेखन, छलफलका विषय र सम्मेलनको साझा घोषणापत्रको मस्यौदा तयार गरिरहेको छ ।
उपाध्यक्ष निरौलाका अनुसार सम्मेलनको नीतिगत एजेन्डा तय गर्न आगामी असोज १४ गते सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूको बैठक बस्दै छ । ‘हामीले प्राकृतिक स्रोत–साधनको संयुक्त उपयोग (जोइन्ट युज), अन्तरप्रदेश हवाई सञ्जाल (फ्लाइट कनेक्टिभिटी), पर्यटन तथा उत्पादन आदानप्रदान लगायतका १२ देखि १३ वटा प्रमुख बुँदाहरू तयार गरेका छौँ । उपाध्यक्ष तहको छलफलपछि ती विषयलाई अन्तिम रूप दिई मुख्यमन्त्री सम्मेलनमा पेस गरिनेछ,’ निरौलाले भने ।
उनले यो सम्मेलन केवल औपचारिकता वा एकपटकको छलफलमा मात्र सीमित नहुने प्रस्ट पारे । ‘यसलाई आगामी दिनमा पनि प्रदेशहरूबीच नियमित रूपमा छलफल, नीति निर्माण र साझा समस्या समाधानका लागि स्थायी फोरमका रूपमा संस्थागत गर्ने गृहकार्य भइरहेको छ,’ उनले भने ।
उपाध्यक्ष निरौलाका अनुसार असोज २२ गते उद्घाटन हुने सम्मेलनमा प्रदेशहरूबीचका असल अभ्यास, स्थानीय र संघीय सरकारसँग गर्नुपर्ने नीतिगत तथा कानुनी समन्वय र समस्या समाधानका उपायहरूबारे छलफल हुनेछ । साथै, कोशी प्रदेशको पर्यटन प्रवद्र्धनलाई सघाउ पु¥याउन सहभागी मुख्यमन्त्री तथा विशिष्ट पाहुनाहरूलाई विराटनगर नजिकका पर्यटकीय स्थलहरूको भ्रमण गराउने तालिका पनि तय गरिएको छ ।
सम्मेलनका लागि सातै प्रदेशका मुख्यमन्त्री र सरोकारवाला निकायहरूसँग समन्वय गर्न कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ ।
तयारीबारे जानकारी दिँदै डा. सुवेदीले भने, ‘सम्मेलनलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारले दुईवटा महत्वपूर्ण समिति गठन गरेको छ । प्रमुख सचिवज्यूको नेतृत्वमा व्यवस्थापकीय समिति छ भने योजना आयोगका उपाध्यक्षज्यूको नेतृत्वमा नीतिगत सिफारिस समिति बनेको छ । हामीले सबै प्रदेशका सचिवालयहरूसँग आवश्यक समन्वय गरिसकेका छौँ ।’
डा. सुवेदीका अनुसार सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्रीसहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र विशिष्ट तहका सरकारी अधिकारीहरू गरी मुख्य नेतृत्व तहका कम्तीमा २४ जनासहित अन्य सरोकारवालाहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।

सम्बन्धित समाचार