२०८३ भाद्र २७ गते , शनिबार

इटालीको फुटबल क्लब याज रोमाको जर्सीमा ‘टुगेदर फर नेपाल’

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २६ गते , शुक्रबार
इटालीको फुटबल क्लब याज रोमाको जर्सीमा ‘टुगेदर फर नेपाल’

बिर्तामोड । गत भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति विश्व समुदायले सहयोगको पहल गरिरहेका छन् । यसै सन्दर्भमा भदौ २५ गते इटलीको रोमस्थित प्रसिद्ध फुटबल क्लब याज रोमाले मानवीय सहयोगको पहल अघि बढाएको छ ।
टर्कीको स्तानबुलमा भएको युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन लिग अन्तर्गतको खेलका क्रममा  फुटबल प्रतियोगितामा याज रोमाका खेलाडीहरूले जर्सीमा टुगेदर फर नेपाल लेखिएको सन्देश अंकित विशेष जर्सीमा मैदानमा उत्रिएका हुन् ।
उनीहरुले नेपालको पक्षमा ऐक्यबद्धता जनाउँदै यो अभियान सञ्चालन गरेको हो।
क्लबका अनुसार खेलमा प्रयोग गरिएका विशेष जर्सीहरू लिलामीमा राखिनेछन्। जर्सी लिलामीबाट प्राप्त रकम संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालका विपद् प्रभावित समुदायको सहयोगमा प्रयोग गरिनेछ।
विश्व फुटबलमा स्थापित क्लबले नेपालको विपद्लाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु राहत सहयोगसँगै नेपालको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यो अभियानमार्फत याज रोमाले खेलकुदको सीमाभन्दा बाहिर पुगेर मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। क्लबको यो पहलले विश्वभर रहेका नेपाली तथा फुटबल समर्थकहरूमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ ।
नेपाल प्राकृतिक विपद्का कारण संकटमा परेका बेला अन्तर्राष्ट्रिय संस्था, सरकार तथा विभिन्न देशबाट सहयोग र ऐक्यबद्धता व्यक्त भइरहेका छन्। यसै क्रममा विश्व फुटबलको लोकप्रिय क्लब याज रोमाबाट आएको समर्थनले नेपालको विपद् अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फेनरबेससग भएको उक्त खेल १-१ को बराबरी भएको थियो । 

सम्बन्धित समाचार