२०८३ श्रावण २० गते , बुधबार

साइबर अपराधका आरोपी ओलीलाई पक्राउ गर्न सात दिने अल्टिमेटम

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १९ गते , मंगलबार
साइबर अपराधका आरोपी ओलीलाई पक्राउ गर्न सात दिने अल्टिमेटम

बिर्तामोड । हल्दीबारी गाउँपालिका–१ निवासी नितेश ओलीलाई पक्राउ गरी कारबाही गर्न नेपाल पत्रकार महासंघ झापा शाखाले सात दिने अल्टिमेटम दिएको छ । उनी विरुद्ध उजुरी दर्ता भएको ५ हप्तासम्म पनि प्रहरीले पक्राउ नगरेको भन्दै मङ्गलबार महासंघले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको हो ।
महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गेलालले प्रहरीलाई तत्काल यस विषयमा निर्देशन दिने बताए ।
विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका ओलीले नेपाल पत्रकार महासंघ झापा शाखा तथा संस्थाका अध्यक्ष र पदाधिकारीहरुलाई लक्षित गर्दै केही समययता सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जर मार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गरिरहेको साथै ज्यान लिने धम्की दिइरहेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ - 'पत्रकारिता पेशा र क्रियाशील पत्रकारहरूलाई बदनाम गराउने उद्देश्यले भइरहेका यस प्रकारका गतिविधि निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघको ठहर छ। यस सम्वन्धमा महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले समेत सम्वन्धित निकायको ध्यानाकर्षण गराइसकेको छ ।
पत्रकारिता पेशासंग आवद्ध नरहेका निज ओलीले यसअघि पत्रकार हुँ भन्दै विभिन्न सञ्चारमाध्यमको नाम लिएर उद्योगी व्यवसायीहरुसंग रकम माग्ने, विभिन्न विषय उठाएर हैरानी दिएको विषयमा महासंघ झापा र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यस विषयमा महासंघ झापाले विज्ञप्तिमार्फत निज ओलीलाई सचेत गराएको थियो । त्यसपछि निज ओलीले लगातारजस्तो महासंघ झापा तथा पदाधिकारीहरु विरुद्ध तथ्यहीन, भ्रामक, कपोलकल्पित विषय उठाएर मानमर्दन गर्दै आएका छन् । यस विषयमा महासंघ झापाले मिति २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रुपले जाहेरी दर्ता गरी जिल्ला अदालतबाट निज ओलीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भई फरार भएका निज ओलीले कानुनलाई खुला चुनौती दिँदै सामाजिक सञ्जाल मार्फत महासंघका पदाधिकारीमाथि निरन्तर गालीगलौज, चरित्रहत्या, आधारहीन आरोप, अफवाह फैलाउने र धम्की दिने जस्ता कार्य भइरहनु अत्यन्त गम्भीर विषय हो । विभिन्न माध्यमबाट ज्यान लिने धम्की दिइनुले पनि सुरक्षा चुनौति थपिएको छ । यस विषयमा महासंघ झापाले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको पटक पटक ध्यानाकर्षण गराइसकेको छ ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै पत्रकारिता पेशाप्रति घृणा, अफवाह फैलाउने तथा पत्रकार महासंघ र पदाधिकारीहरुकै चरित्र हत्या गरिरहेको कसुरमा फरार रहेका निज ओलीलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसक्नुले प्रहरीको कार्य क्षमतामाथि नै प्रश्न खडा गरेको छ । फरार रहेका भनिएका व्यक्तिको ह्वाट्सएप, म्यासेन्जर, फेसबुक २४ सै घण्टा चलिरहेको देखिन्छ । त्यही माध्यमबाट निजले निरन्तर महासंघ तथा पदाधिकारीको चरित्र हत्या हुने सामग्री सम्प्रेषण गरिरहेका छन् । निजको सामाजिक सञ्जाल निरन्तर सक्रिय रहँदा पनि पक्राउ प्रक्रियामा भइरहेको ढिलाइप्रति महासंघ आश्चर्य प्रकट गर्दछ । साथै प्रहरी प्रशासनले अपराधमा संलग्न ओलीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसक्नुले प्रहरी प्रशासनको भूमिकाप्रति नै गम्भीर शंका उत्पन्न भएको छ ।
महासंघ अभियुक्तलाई तत्काल पक्राउ गर्न, निजको सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक र अवाञ्छित गतिविधि रोक्न तथा दण्डहीनताको अन्त्य गर्न सरकारसँग जोडदार माग गर्दछ । प्रहरीले एक साताभित्र निज ओलीलाई कानुनी दायरामा नल्याए महासंघ सशक्त कदम चाल्न बाध्य हुने यसै विज्ञप्तिमार्फत सम्वन्धित निकायलाई जानकारी गराइन्छ ।'

 

सम्बन्धित समाचार