आज छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’
बिर्तामोड । दिपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि छठ पर्व शुरु भएको छ । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु गरिन्छ ।
छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।
मानिसहरु झापाको कनकाई, बिरिङ, अन्दुवा, मेची लगायतका खोला किनारामा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् ।
बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।