नेकपा तेह्रथुमको एकता बैठक सम्पन्न, १२५ सदस्यीय जिल्ला कमिटी घोषणा
म्याङ्लुङ (तेह्रथुम) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति तेह्रथुमको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सरकारले महँगी नियन्त्रण र सुकुम्बासीको पुनर्बास नगरी बर्तमान समयमा जनविरोधी काम गरी निरंकुश हुदै गएको कार्यक्रमका प्रमुख अतिथि राईले बताए । जनताको अधिकार रक्षाको लागि वामपन्थी एकता तथा ध्रुवीकरण निरन्तर रहने राईले धारणा राखे । उनले पार्टी एकताका लागि पहिला पार्टीलाई बलियो बनाउनुपर्ने र सङ्गठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिने बताए ।
नेपाली जनताको बलिदानबाट संविधान प्राप्त भएको बताउँदै संघ, प्रदेश र स्थानीय तह सहितको प्रशासनिक र वित्तीय सङ्घीयता कसरी प्रभावकरी बनाउने भन्ने तर्फ बहस गर्न आवश्यक रहेको प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्ले (समार)ले बताए ।
कार्यक्रममा १२५ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा एकिकरण भए पश्चात पार्टीले जिल्ला तहको एकीकरण धमाधम गरिरहेको छ ।
केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको प्रदेश सदस्य सानु बस्नेत (सिता)ले जानकारी दिइन् ।
जिल्ला संयोजक बलिराज इंनामको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ (मिक्सो), दुर्गा चापागाईं (सचिन) लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला सह-संयोजक कुमार कन्दंवाले सञ्चालन गरेका थिए ।