नगर प्रहरीले व्हील लक लगाएका व्यक्तिद्वारा आत्मदाह प्रयास
झापा । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।
प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा परीक्षणको प्रक्रिया पूरा गरिँदै छ । एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सार्ने तयारी भइरहेको दाहालले जानकारी दिए ।
‘उहाँको अवस्था अहिले निकै गम्भीर छ । अनुहारदेखि छाती, घाँटी, हात र खुट्टासम्म जलेको छ । शरीरको करिब ६० प्रतिशत भागमा जलन देखिएको छ । अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर आईसीयूमा सार्ने तयारी गरिरहेका छौं,’ डा. दाहालले भने।
उनका अनुसार बिरामीले सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ । जलनका कारण हुने सम्भावित जटिलतालाई मध्यनजर गर्दै चिकित्सकहरूको निगरानीमा सघन उपचार सुरु गरिएको छ।
राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेका उनको महानगर प्रहरीले केही समयअघि लक लगाएको पाइएको छ ।