कन्सल्टेन्सीलाई धरौटी मान्य हुँदैन : अध्यक्ष पौडेल
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इक्यानका केन्द्रिय अध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुलाई हतोत्साहित र धरासायी बनाउने उद्देश्यले सरकारले धरौटी ल्याउने प्रयास गरिरहेको भन्दै आफूहरु धरौटी मान्न तयार नरहेको स्पष्ट पारेका छन् ।
उनले शैक्षिक नियमावलीका नाममा शैक्षिक परामर्श व्यवसायीहरुलाई धरौटी राख्न लगाएर व्यवसायबाट पयालन बनाउने प्रयास गरिरहेको बताए । उनले राज्यको हितभन्दा बाहिर नजाने स्पष्ट पार्दै धरौटीको प्रावधान साना र मझौला व्यवसायीलाई निषेध गर्ने खेल भएकाले उक्त निर्णय आफूहरु मान्न तयार नरहेको स्पष्ट पारे ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले सरकारले शैक्षिक नियमावलीका लागि शैक्षिक परामर्श व्यवसायीहरुसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गरे । उनले राज्यले बनाउने नियम र कानून मान्न तयार रहे पनि शैक्षिक परामर्श व्यवसायीका लागि धरौटी स्वीकार्य नहुने स्पष्ट पारे । उनले कुनै पनि कन्सल्टेन्सीलाई गलत कार्य नगर्न निर्देशन दिँदै इक्यानमा आबद्ध भएर गलत गर्ने छुट कसैलाई नभएको उल्लेख गरे । एउटा कन्सल्टेन्सीका कारण विद्यार्थी र अभिभावकको भविष्य अन्योलमा पर्ने भएकाले गलत गर्ने छुट इक्यानमा आबद्ध सदस्यलाई नभएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका प्रथम उपाध्यक्ष बासुदेव दाहालले आफूहरु यही देशको नागरिक भएको र राज्यले बनाएका नियम कानून बाहिर तथा राज्य हितभन्दा बाहिर नजाने स्पष्ट पार्दै शैक्षिक परामर्श व्यवसायीलाई व्यवस्थत गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी कसरी नेपाल भित्र्याउन सकिन्छ भन्ने विषयमा समेत राज्यले पहल गर्नुपर्ने बताए ।
नेपाल शैक्षिक परामर्श संघका महासचिव भवनाथ हुमागाँईले वर्तमान शैक्षिक अवस्था तथा शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावलीका विषयमा झापाका शैक्षिक परामर्श व्यवसायीहरुलाई जानकारी गराएका थिए । नेपाल शैक्षिक परामर्श व्यवसायी संघमा सात सय ५० व्यवसायी आबद्ध रहेको र आफूहरुले राज्यले बनाएको नियम र कानून अनुसार संघ र प्रदेशमा दर्ता भएर शैक्षिक परामर्शको काम गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले राज्यले ऐन र कानून निर्माण गर्ने सन्दर्भमा शैक्षिक परामर्श व्यवसायीलाई निषेध गर्ने रणनीति अपनाए त्यो राज्यका लागि नै घातक हुने चेतावनी दिए । शैक्षिक परामर्श व्यवसायीहरुले राज्यको नियम र परिधिमा रहेर नै काम गरिरहे पनि आफूहरुलाई गलत भाष्य सिर्जना गरेर दमन गर्ने रणनीति अपनाए त्यो राज्यका लागि नै ठूलो बोझ पर्ने उल्लेख गरे ।
अन्तरक्रियात्मक कार्यक्रममा कन्सल्टेन्सी व्यवसायीहरु अनिल सापकोटा, अशोक भण्डारी, सचिन खड्गी, सरोज खरेल, राज मुखिया, कृष्ण रिजाल, तुलसी पाठक, विशाल सिटौला लगायतले राज्यले निर्माण गरिरहेको शैक्षिक नियमावलीका विषयमा केन्द्रीय नेतृत्वसँग जिज्ञासा राखेका थिए । इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको अन्तरक्रियात्मक कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव विशाल सिटौलाले गरेका थिए । इक्यान झापा ६० भन्दाबढी कन्सल्टेन्सीहरु आवद्ध रहेका छन् ।