पहिलोपटक नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश
झापा । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोलले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एर्लिङ हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनल प्रवेश गरेको हो ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।
ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।
नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २–१ ले नै पराजित गरेको थियो ।
यस्तै नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित छ । नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए ।
उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् ।
हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे ।
ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाउाौा गोल गर्न चुकेको थियो । पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।
खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।
न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।
पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उनले ५९औं मिनेटमा नर्वेका किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने चुकेका थिए । जुन ब्राजिलका लागि महँगो सावित भयो ।
खेलमा नर्वेले ब्राजिलमाथि सुरुवात देखि बल पोसेसन राख्दै दबाब बनाएको थियो । पहिलो हाफमा ब्रुनोले पेनाल्टीमा गोल गर्न चुकेपछि ब्राजिल झन् दबाबमा परेको थियो ।
खेलमा नर्वेले ६५ प्रतिबल बल पोसेस राख्दा ब्राजिलको ३५ प्रतिशत मात्र थियो । यस्तै नर्वेले ९ सट प्रहार गर्दा ५ सट टार्गेटमा राखेको थियो ।
ब्राजिलले खेलभर १४ सट प्रहार गरेपनि ४ सट मात्र टार्गेटमा थियो ।