नेकपाले कोशीमा टुंग्यायो कार्यविभाजन, झापा इञ्चार्जमा पोखरेल र संयोजकमा तिम्सिना
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कोशी प्रदेश अन्तर्गत संगठन सुदृढीकरण तथा गतिविधिलाई प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला तहको कार्यविभाजन टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालयले जारी गरेको परिपत्रअनुसार प्रदेश कार्यसञ्चालन समिति र जिल्ला समितिहरूमा विभिन्न जिम्मेवारी तोकिएको हो ।
झापामा पार्टीले पुष्पराज पोखरेललाई इन्चार्ज र खड्ग तिम्सिना (पवन) लाई संयोजकको जिम्मेवारी तोकेको छ । सहइञ्चार्जहरुमा सीपी कडरिया, विरेन्द्र बस्नेत, धनबहादुर पंधाक, दिपेनवाला राई र बासु दुलाल रहेका छन् भने सहसंयोजकमा रोम घिमिरे र बिपी भट्टराई रहेका छन् ।
यसैगरी झापाका विभिन्न नेताहरूलाई प्रदेशस्तरीय जनसंगठन तथा विभागहरूमा समेत समेटिएको छ । पार्टीले प्रदेशभर संगठनात्मक गतिविधिलाई चुस्त बनाउने, नियमित बैठक सञ्चालन गर्ने तथा जनवर्गीय संगठनहरूमार्फत जनसम्बन्ध विस्तार गर्ने लक्ष्यसहित कार्यविभाजन गरिएको जनाएको छ ।
पार्टीले प्रदेशस्तरीय विभिन्न जनवर्गीय तथा पेशागत संगठनहरूको इन्चार्ज र सह–इन्चार्ज समेत निर्धारण गरेको छ । सोही क्रममा प्रेस संगठनको इन्चार्जमा मणिकुमार साम्पाङलाई जिम्मेवारी दिइएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको परिपत्रमा तोकिएका जिम्मेवारीहरू तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिइएको उल्लेख छ ।