२०८३ श्रावण २६ गते , मंगलबार

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ कोशीको भेला सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २६ गते , मंगलबार
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ कोशीको भेला सम्पन्न

दमक । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेशको प्रदेशस्तरीय भेला दमकमा सम्पन्न भएको छ। दमक नगरपालिका–९ स्थित कनकाई पार्टी प्यालेसमा आइतबार आयोजित भेलाले अभिकर्ताको हकहित, बीमितको हित तथा संघलाई थप सक्रिय र सशक्त बनाउने विषयमा जोड दिएको छ।
भेलाको अध्यक्षता खड्गबहादुर दर्नाल (के.बी.)ले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा राष्ट्रिय समिति सचिव तेजप्रसाद सिटौला, नेपाल लाइफका केन्द्रीय समितिका उपाध्यक्ष तेजमणि प्रसाईं, शाखा अध्यक्ष गाइघाटका झनक झिमिरेलगायतको उपस्थिति थियो।
कार्यक्रममा दमक शाखाका नवीन ताम्राकारले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै सुरुङा शाखाका दशरथ खरेल, चन्द्रगढीका बुद्धीराज खरेल, बिर्तामोडका टीकाराम चम्लागाईंलगायत विभिन्न शाखाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव तेजप्रसाद तिवारीले गरेका थिए।
भेलाबाट संघको कार्यसमितिमा अध्यक्ष टीकाराम उप्रेती, वरिष्ठ उपाध्यक्ष जनक कोइराला, उपाध्यक्षद्वय धिरज अग्रवाल र रेनुका उप्रेती, सचिव नेत्रप्रसाद प्रसाईं, सहसचिव नवीन खरेल तथा कोषाध्यक्ष विशाल अधिकारी चयन भएका छन्। सदस्यहरूमा कृष्णबहादुर विक, जीवन ज्योति बज्राचार्य र भगिरथा उप्रेती रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि रामकुमार बुढाथोकीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।
भेलालाई सम्बोधन गर्दै वक्ताहरूले बीमा अभिकर्ताको हकहित सुनिश्चित गर्न तथा बीमितले प्राप्त गर्ने बोनसलाई उच्चतम बनाउन संघ सक्रिय र क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए। अभिकर्ता बीमा व्यवसायको महत्वपूर्ण आधार भएकाले उनीहरूको पेशागत सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा कम्पनी व्यवस्थापनले समान हैसियतका अभिकर्तामध्ये कसैलाई काखा र कसैलाई पाखा लगाउने तथा कम्पनीका कार्यक्रममा अभिकर्तालाई अपमान गर्ने गतिविधिप्रति समेत आपत्ति जनाइएको थियो। अभिकर्तालाई कुनै पनि कार्यक्रममा अपमान गर्ने वा विभेद गर्ने कार्य भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिइएको छ।
त्यस्तै, बीमा ऐनमा रहेका अभिकर्ताविरोधी तथा विवादित व्यवस्थाहरू तत्काल पुनरावलोकन गरी हटाउन नियामक निकाय र राज्यसँग जोडदार माग गरिएको छ। संस्थागत अभिकर्ता तथा ‘कर्पोरेट छुट’ लगायतका असमान व्यवस्थाले व्यक्तिगत अभिकर्ताको पेशागत अधिकार र अवसरमा असर पार्ने भन्दै त्यस्ता प्रावधान हटाउन आग्रह गरिएको हो।
भेलाले श्रावण महिनादेखि अभिकर्तामाथि कर वृद्धि गरिएको विषयमा समेत असन्तुष्टि व्यक्त गरेको छ। गहन अध्ययन र सरोकारवालासँग पर्याप्त छलफल नगरी कर वृद्धि गरिएको भन्दै उक्त व्यवस्था तत्काल सच्याउन राज्यसँग माग गरिएको छ।
बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिकर्तामैत्री बनाउन नियामक निकाय, बीमा कम्पनी र अभिकर्ता संघबीच प्रभावकारी समन्वय आवश्यक रहेको भेलामा सहभागीहरूको धारणा थियो। भेलाले अभिकर्ताको पेशागत मर्यादा र अधिकार संरक्षणसँगै बीमितको हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार