कोशीमा एमाले र नेकपा सहमति नजिक
झापा । कोशीमा सरकार गठन गर्ने विषयमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सहमति नजिक पुगेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच अबको एक हप्ताभित्र सरकार विस्तार सक्ने र अर्को हप्ता भित्रमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिइसक्ने विषयमा सहमति भएको हो ।
कोशी प्रदेश सरकार विस्तार र मन्त्रालय बाँडफाटको विषयलाई लिएर विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज भएको तेस्रो चरणमा छलफलमा दुई दलबिच मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाटका विषयमा सैद्धान्तिक सहमति भएको बैठकमा सहभागी एमालेका सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।
यस्तै नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुवै दल सरकारलाई चाँडो पूर्णता दिन र न्यूनतम साझा कार्यक्रम तय गर्न सहमत भएको बताए । ‘भोलीसम्ममा मन्त्रालय बाँडफाटको सहमति हुन्छ,’ भण्डारीले भने । भण्डारीका अनुसार यसै साताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । ‘आजको छलफलले यो हप्ताभित्रमा सकेसम्म मन्त्रिमण्डल टुंग्याउने, अर्को हप्तामा विश्वासको मत लिने र न्यूनतम साझा कार्यक्रम तय गर्ने दुवै दल मिलेर निर्णय भएको छ,’ भण्डारीले भने ।
सरकारको प्रभावकारिताका लागि दुई दलले साझा एजेण्डा बनाउने भण्डारीले बताए । ‘हिजो कांग्रेसले लिएका मन्त्रालयहरू अब कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी छलफलमा छौँ । सैद्धान्तिक कुरा धेरै टुंगिएको छ, तर फाइनल हुन बाँकी छ,’ भण्डारीले भने, ‘काँग्रेसले हाल लिएका मन्त्रालय एमालेतिर आउन पनि सक्छ, हामीले राखेको नेकपाले लिन पनि सक्छ भन्ने विषयमा लचिलो हुने । त्यसमा रिजिड (कठोर) नहुने दुवै दलबिच सैद्धान्तिक कुरा टुंगिएको छ । मन्त्रालयको संख्याका बारेमा पनि भोलिसम्ममा टुङ्गो लाग्छ ।’ भोलि दिउँसो बस्ने बैठकले सबै विषयको अन्तिम टुङ्गो लगाउने उनले जानकारी दिए । ‘भोलि दिउँसो बस्ने कुरा छ । भोलि सबै टुङ्गो लाग्छ,’ उनले भने ।
नेकपा संसदीय दलका नेता आङ्बोले पनि छलफल सकारात्मक दिशामा अघि बढेको बताएका छन् । ‘छलफल सकियो, अझै टुंगिएको छैन । सामान्य छलफल भयो, भोलिसम्ममा टुग्याउँ भन्ने सल्लाह भएको छ । मन्त्रालय बाँडफाटको विषय अझै टुंगिएको छैन,’ आङ्बोले भने ।
आङ्बोले दिउँसोसम्ममा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको बताए । ‘संख्या र मन्त्रालय त टुंगिहाल्छ नि, त्यतिबेला मन्त्रालय पनि टुंगिन्छ । मुख्य कुरा त्यही बाँकी छ, त्यो भोलि टुंग्याउने कुरा भएको छ,’ आङ्बोले भने ।
यसअघि एमाले र नेकपाबिच सोमबार भएको छलफलमा मन्त्रालय भागबण्डामा भने कुरा मिल्न बाँकी थियो । हिंजोको छलफलमा नेकपाले सरकारमा चारवटा मन्त्रालय पाउनुपर्ने माग दाबी गरेको भएपनि एमालेले तीनवटा मात्र मन्त्रालय दिन सकिने अडान राखेको थियो ।
यस्तै दुई दलबिच साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउनका लागि नेकपा दलका नेता आङ्बोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । यस्तै दुईपार्टीबिच बजेटलाई पुनरावलोकन गर्ने, अड्किएका ऐन कानुनहरूलाई आपसी सहमतिमा पारित गर्ने र सरकारलाई प्रभावकारी बनाउने विषयमा भने दुई दलबिच सहमति भएको छ । प्रदेश नामकरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने बारेमा अन्य दल र शीर्ष नेताहरुसँग छलफल गर्न दुई दल तयार भएका छन् । Mm