ज्यानमारा बन्दै टिपर, झापामा दुई दिनमा दुई जनाको मृत्यु
बिर्तामोड । पछिल्लो समय सडकमा अन्धाधुन्ध कुद्ने टिपर ज्यानमारा बन्दै गएको छ । झापामा टिपरको ठक्करबाट दुई दिनमा दुई जनाको ज्यान गएको छ ।
मंगलबार टिपरको ठक्करका कारण गौरादह ४ का ६१ बर्षीय प्रेमप्रसाद गुरागाईको मृत्यु भएको भोलिपल्ट आज दमकमा टिपरको ठक्करबाट दमक ५ निवासी ६० बर्षीय भिमबहादुर कार्कीको मृत्यु भएको छ ।
आज बिहान ९ः५५ बजेतिर दमक ९ स्थित निम्स अस्पतालअगाडिको पूर्व पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११ प १६२० नम्बरको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । स्कुटीमा सवार दमक ५ जेष्ठ नागरिक टोलका अन्दाजी ६० बर्षीय भिमबहादुर कार्की गंभीर घाइते भएका थिए । टाउको, दाहिने हात, अनुहारलगायतका भागमा चोट लागेका कार्कीलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटीको पछाडी सवार गौरीगन्ज १ बस्ने ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन् । कार्की झापाको तत्कालीन महाभारास्थित जनकल्याण आधारभूत बिद्यालयका सेवा निवृत्त शिक्षक हुन् ।
ठक्कर दिएर फरार भएका टिपर र टिपर चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । खोजतलास गर्ने क्रममा दिउँसो १२ः३० बजे प्र १–०२–००१ क ४२८५ नम्बरको टिपर र टिपर चालक गौरादह वडा नम्बर ९ बैगुनधुरा बस्ने २९ वर्षीय दिपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।