झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिकामा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
हल्दीबारी गाउँपालिका वडा नम्बर ५ स्थित धनुषपोखरी नजिकै गएराति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गरी हत्या गरेका हुन् । उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासीका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झगडा हुँदै आएको थियो। राति करिब ( बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो। सोही क्रममा विवाद बढ्दै जाँदा आवेशमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ ।
श्रीमतीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए । घटनाबारे बताएलगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरी भण्डारीलाई नियन्त्रणमा लिएका थिए।
उर्मिला गोकर्णकी कान्छी श्रीमती थिइन् । जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासंग घरजम गरेका थिए । मृतक उर्मिलाका एक छोरी र एक छोरा रहेका छन् । आमाको हत्या र बुबा प्रहरीको नियन्त्रणमा परेपछि ती बालबालिकाहरूको विचल्ली भएको छ ।
पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।