हिमालयन लाईफद्वारा ‘फायर वक’ सम्पन्न
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुका लागि योग साधना तथा फायर वक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशको मेची जोन अन्तर्गत शनिबार र आइतबार दुई दिवसीय कार्यक्रम आयोजना गरेको हो ।
अभिकर्ताहरुमा आध्यात्मिक चिन्तनमार्फत उत्प्रेरणा जनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । योग साधना पश्चात सहभागीहरुलाई आगोमा हिडाउने कार्यसमेत गरिएको थियो । अन्तरमनबाट चाहने हो भने असम्भव केहि नभएको कार्यक्रमले पुष्टि गरेको कम्पनीका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले बताए ।

झापाको अर्जुनधारा १ स्थित साधुटारमा रहेको श्री शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशालामा आयोजित कार्यक्रमलाई साध्वी सुधा देवकोटाले सहजीकरण गर्दै मानिसले अध्यात्मको माध्यमबाट आफुलाई चिन्न सकिने र आफु भित्रको सकारात्मक उर्जा पहिचान गर्न सकिएमा कोहि मानिस दुखी नहुने, खुसी मानिसले सफलता प्राप्त सहजरुपमा गर्न सक्ने बताइन् ।
औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्य राख्दै शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले आध्यात्मिक चिन्तनमार्फत मानिसले सफलता प्राप्त गर्न सकिने धारणा राखे । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा आफ्नो धारणा राख्दै एजेन्सी मेनेजर श्याम रिजाल, सञ्जय शर्मा, एमडीआरटीद्वय सिर्जना गौतम र दिलिप गौतम साथै कम्पनीका शाखा प्रमुखहरु प्रमेश श्रेष्ठ, अखिलेश्वर बोहोरा, घनेन्द्र रिजालले कार्यक्रमले सकारात्मक उर्जा दिनुका साथै आफ्नो मन नै सबथोक भएको अनुभूति राखेका थिए ।
कम्पनीका कोशी प्रदेश प्रमुख शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई कम्पनीका कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले स्वागत गरेका थिए भने एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर सागर रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।