२०८३ जेष्ठ २ गते , शनिबार

बिर्तामोडमा कराते तथा किक बक्सिङ प्रतियोगिता शुरू

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १ गते , शुक्रबार
बिर्तामोडमा कराते तथा किक बक्सिङ प्रतियोगिता शुरू

बिर्तामोड । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा 'दोस्रो मेयर कप २०८३ अन्तर वडा कराते तथा किक बक्सिङ प्रतियोगिता' रूपमा सुरु भएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको समुद्घाटन गरिन् ।
जेठ २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक सुदिप खवासले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख प्रसाईले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरणा प्रदान गर्ने धारणा राखिन् ।
मार्सल आर्ट्सका विधाहरू कराते र किक बक्सिङले व्यक्तिमा आत्मविश्वास भर्ने चर्चा गर्दै उनले खेलमा हार र जितभन्दा पनि अनुशासन र हिम्मत ठूलो कुरा भएको उल्लेख गरिन्।
'प्रतियोगितामा चुनौतीहरू त अवश्य हुन्छन्, तर हिम्मत नहारी अगाडि बढ्ने हो भने सफलता निश्चित छ,' नगर प्रमुख प्रसाईले भनिन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले वडा स्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रका लागि उत्कृष्ट खेलाडीको रूपमा उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कराते र किक बक्सिङ जस्ता खेलहरू प्रतिरक्षात्मक विधा भएकाले व्यक्तिगत सुरक्षा र स्वस्थ जीवनयापनका लागि यसको ठूलो महत्त्व रहेको उनको भनाइ थियो ।
त्यसैगरी विशिष्ट अतिथि वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले नगरपालिकाले नगरभित्रका स्थानीय खेलाडीहरूको उन्नयन र वृत्ति विकासका लागि विभिन्न चरणमा फरक-फरक प्रतियोगिताहरू आयोजना गर्दै आएको बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोलाई नगद २५ हजार र तृतीय स्थान हासिल गर्नेले नगद १५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेप्रतियोगिताका संयोजक सुदीप खवासले बताए ।
उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फका एक-एक जना 'बेस्ट फाइटर'लाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव विशन लिम्बूले गरेका थिए । कार्यक्रममा नेपाल भलिबल संघका राष्ट्रिय उपाध्यक्ष मदन खड्का लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ लागतमा अनुमान गरिएको छ ।
शनिबारसम्म चल्ने यस प्रतियोगिताले बिर्तामोडमा खेलकुदको माहोल थप तताएको छ भने खेलाडीहरूमा नयाँ उत्साह जगाएको छ ।

सम्बन्धित समाचार