गैससका प्रतिनिधीलाई नेतृत्व विकास तालिम
झापा । गैरसरकारी संस्थाका प्रतिनिधीहरुलाई नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ । कास्कीको पोखरामा दुई दिने अभिमुखीकरण तथा नेतृत्व विकास तालिम आयोजना गरिएको हो ।
लिडरसिप एकेडेमी नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा रहेको थियो । सामाजिक नेतृत्व, समुदायसँगको सहकार्य, संस्थागत उत्तरदायित्व तथा युवाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, सामाजिक अभियान सञ्चालन, संस्थागत क्षमता अभिवृद्धि तथा समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा सहजीकरण गरिएको थियो । सहभागीहरूले विभिन्न जिल्लामा भइरहेका सामाजिक अभ्यास, चुनौती तथा सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख सञ्चालन अधिकृत जयेन्द्र रिमालले समाज परिवर्तनका लागि व्यवहारिक नेतृत्व आवश्यक रहेको बताए । उनले समुदायको आवश्यकता बुझेर उत्तरदायी ढंगले काम गर्नुपर्ने बिषयलाई उठान गर्दैँ प्रशिक्षण दिएका थिए ।
वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानले गैरसरकारी संस्थाहरूले पारदर्शिता र दीर्घकालीन प्रभावमा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राखे ।
त्यस्तै कार्यक्रम प्रबन्धक प्रज्ञा घिमिरेले नेतृत्व विकास निरन्तर सिकाइ र आत्मविश्वासको प्रक्रिया भएको उल्लेख गरिन् ।
समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री गोबिन्दबहादुर नेपालीले गैरसरकारी संस्थाहरू समाज रूपान्तरणका महत्वपूर्ण साझेदार भएको बताए । उनले युवालाई नेतृत्व विकाससँग जोड्ने कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागी थारु सामुदायिक मञ्चकी व्यवस्थापक आराधाना चौधरीले तालिम फलदायी र प्रेरणादायी भएको बताउँदै खुशी व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमले संस्थागत अनुभव आदानप्रदान र नेतृत्व विकासमा सकारात्मक सहयोग पुगेको बताइन् ।
कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई आफ्ना समुदायमा प्रयोग गर्दै सामाजिक रूपान्तरणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजक सस्था लिडरसिप एकेडेमी नेपाल लामो समय देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।