सडक पेटिका घर टहरा हटाउँदै बिर्तामोड
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडकपेटीमा निर्माण गरिएका घर टहरा हटाउने भएको छ ।
बिर्तामोड क्षेत्रको उत्तर दक्षिण सडकको बीच भागबाट दायाँ बायाँ १५–१५ मिटर सडक क्षेत्रभित्र निर्माण गरिएका घर टहरा हटाउने भएको हो । त्यसक्रममा मङ्गलबार बिर्तामोड-५ को महानन्द चोकदेखि सडक क्षेत्रको भाग छुट्याएर चिन्ह लगाउन शुरु गरिएको छ ।
बुधबार (आज) बिर्तामोड ४ र ३ का घर टहराको नापजाँच गरिएको छ । भद्रपुरको सिमाना बिर्तामोड-८ को देउनियासम्म सडक क्षेत्रमा परेका संरचनाहरु हटाइने नगरपालिकाले जनाएको छ । आजसम्म बिर्तामोड ५, ४ र ३ का संरचनाहरुको नापजाँच गरिएको र अन्य वडाको बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए ।
उनले सडक क्षेत्रभित्र परेका संरचनाहरु हटाउन १५ दिनको म्याद दिइएको जानकारी दिए । केही घरधनीहरुले हिजैबाट आफ्ना संरचनाहरु हटाउन थालिसकेको उनले बताए । सडक क्षेत्रभित्र करिब २ सय घर टहराहरु परेका छन् ।