झापामा पनि हुलाकमार्फत राहदानी पुर्याउन सुरु
बिर्तामोड । झापामा हुलाकमार्फत राहदानी सेवाग्राहीसम्म पुर्याउने कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले मङ्गलबारबाट सो सेवा सुरु गरेको हो ।
नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत अब राहदानी (पासपोर्ट) वितरण कार्यलाई थप सहज र सुलभ बनाउन हुलाक सेवालाई परिचालन गरिएको छ ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय झापाले तयार भएका राहदानीहरू सम्बन्धित पालिकासम्म पुर्याउन हुलाक कार्यालयलाई जिम्मेवारी सुम्पिएको हो ।
मंगलबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकाका सेवाग्राहीहरूको ६ थान राहदानी जिल्ला हुलाक कार्यालय झापाका निमित्त प्रमुख टेकप्रसाद भट्टराईलाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राहदानी भट्टराईलाई हस्तान्तरण गरेका हुन्।
दोस्रो चरणमा झापा गाउँपलिकाका राहदानी हुलाक मार्फत घर-घरमा पुर्याइने प्रमुख जिल्ला अधिकारी गेलालले बताए।
नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूची कार्यक्रम अन्तर्गत नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।
अबको नयाँ व्यवस्था अनुसार, राहदानी लिनका लागि सेवाग्राहीहरू सदरमुकाम चन्द्रगढीसम्म धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले राहदानीहरू हुलाक संयन्त्रमार्फत सम्बन्धित पालिका वा नजिकको हुलाक कार्यालयमा पठाउनेछ, जहाँबाट सेवाग्राहीले सुरक्षित रूपमा आफ्नो राहदानी प्राप्त गर्न सक्नेछन् ।
यसले सेवाग्राहीको समय र खर्चको बचत गर्नुका साथै प्रशासनिक सेवामा सरलता ल्याउने जिल्ला प्रशासन कार्यालय झापाले विश्वास लिएको छ ।