२०८३ बैशाख ३ गते , विहीबार

पतञ्जली जग्गा प्रकरणमा बहस नोट पेश गर्न आदेश

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २ गते , बुधबार
पतञ्जली जग्गा प्रकरणमा बहस नोट पेश गर्न आदेश

झापा । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ । यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको चरणमा रहेको छ ।
बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्रतिवादी बनाइएकाहरूको कानुन व्यवसायीलाई बहस नोट पेस गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।

सम्बन्धित समाचार