मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा परी फिदिम-१२ पाँचथर घर भई बोर्डर आउट पोष्ट बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङको मृत्यु भएको हो ।
आज बेलुका ५:३० बजे मेचीनगर-२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा पछाडी सवार तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा साँझ ६:४५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक झापा अर्जुनधारा-१ घर भई सोही पोष्टमा कार्यरत सशस्त्र प्रहरी हवल्दार बर्ष ४० को डिल्लिराम सुबेदीको हातमा सामान्य चोट लागेको उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।