मासेमी फियाक लिम्बू बर्थ डे चेस टुर्नामेन्ट सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा ‘मासेमी फियाक लिम्बू बर्थ डे सेकेण्ड र्यापिड चेस टुर्नामेन्ट २०८२’ सम्पन्न भएको छ ।
झापाको अर्जुनधारा ११ नयाँ बसपार्कस्थित होटल होराइजन परिसरमा बिहीबार सम्पन्न प्रतियोगितामा ज्वाला इम्बुङ प्रथम भएका छन् । इम्बुङ फिडेको रेटिङमा नेपालको २४औँ स्थानमा छन् । प्रथम बनेका इम्बुङले नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै बर्ष २०२४ का नेपाल च्याम्पियन राजन सुवेदी दोस्रो र गगन लावती तेस्रो भएका थिए । दोस्रो र तेस्रो बनेका सुवेदी र लावतीले क्रमश ः नगद १० हजार र नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।
त्यस्तै चौथो, पाँचौ, छैठौ, भेटेरान, विद्यार्थी, ननरेटेट गरी विभिन्न विधामा समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।
होटल तथा पर्यटन व्यवसायी किरन फियाक लिम्बूले आफ्नी छोरी मासेमीको जन्म दिनमा बुद्धिचाल खेललाई प्रबर्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । प्रतियोगितामा ४४ जना प्रतिष्पर्धी सहभागी थिए ।
किरन फियाक लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी डा. शम्भु नवल मल्टीस्पेसियालिटी हस्पिटलका प्रबन्ध निर्देशक डा. शम्भु नवल रहेका थिए भने कार्यक्रम सागर रिजालले सञ्चालन गरेका थिए ।