श्रम मन्त्री साहको जिम्मेवारी खोसियो, स्वास्थ्यमन्त्री मेहेतालाई सचेत गराउन सिफारिस
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई फिर्ता बोलाएको छ । पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँँच आउने काम गरेको भन्दै पार्टीले साहलाई मन्त्रीबाट फिर्ता बोलाएको हो ।
साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि रिक्त राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको भन्दै पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई सिफारिस पत्र पठाउँदै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न भनेको थियो । सोही अनुसार बिहीबारबाट नै लागू हुनेगरी प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपक कुमार साहलाई जिम्मेवारीबाट अलग गरेका हुन् । साथै उक्त मन्त्रालय समेत प्रधानमन्त्री शाहले नै राखेका छन् ।
त्यस्तै रास्वपाले गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहेतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहलाई सिफारिस गरेको छ ।