बिर्तामोड प्रहरीको सक्रियताले अनलाइनमार्फत ठगिएको २ लाख रुपैयाँ फिर्ता
बिर्तामोड । अनलाइन स्क्याम गरी ठगिएको रकम फिर्ता गराउन बिर्तामोड प्रहरी सफल भएको छ ।
बिर्तामोड ५ का दामोदर गौतमलाई विभिन्न बहानामा अनलाइनबाट स्क्याम गरी ठगिएको रकम मध्ये २ लाख ५ हजार फिर्ता गराउन बिर्तामोड प्रहरी सफल भएको हो ।
के हो घटना ?
टिकटकमा देखाइएको सामान अर्डर गर्दा लाखौं रकम ठगिएला भन्ने गौतमले सोचेका थिएनन् । घटना चैत्र १७ गतेको हो । अङ्ग्रेजीमा श्री राम लक्ष्मण फर्निचर युजर आईडी भएको टिकटकमा उनले ३ हजार मूल्य तोकिएको मन्दिर अर्डर गरे । विज्ञापनकर्ताले पठाएको विकास राजवंशीको क्युआरमा रकम पनि भुक्तानी गरे ।
रकम भुक्तानी गरेको बेलुका ९८०७८८१९४९ नम्बरबाट ह्वाट्सएपमा कल गरेर गौतमलाई उक्त रुपैयाँ होल्ड भएको र फिर्ता गर्न अर्को बैंकको क्युआर पठाउन भनेर आग्रह गरियो ।
भोलिपल्ट बिहान गौतमले लक्ष्मी सनराइज बैंकको क्युआर पठाए । उनीहरूले बैंकको एपमा गएर निर्देशन बमोजिम गर्नु तपाईंको रकम फिर्ता आउँछ भनेर अह्राए र गौतमले त्यही अनुसार गर्दा तत्कालै उनको खाताबाट २ लाख ८७ हजार ५५८ रुपैयाँ लवकेश कुमारको नाममा नविल बैंकको खातामा रकम ट्रान्सफर भयो ।
आफूले पठाएको तीन हजार रुपैयाँ फिर्ता हुन्छ भन्ने सोचेका गौतमको यति धेरै रकम फेरि अर्को खातामा झुक्याएर ट्रान्सफर हुँदा उनी छाँगाबाट खसेझैँ भए ।
तत्कालै उनी इलाका प्रहरी कार्यालय बिर्तामोड गएर प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठलाई घटनाबारे जानकारी गराए । प्रहरीले बैंकबाट स्टेटमेन्ट ल्याउन लगाए र तत्कालै अनुसन्धान सुरु गरे ।
नबिल बैंकमा भएको लवकेशको खाताबाट सो रकम दुर्गा पासवानको खल्तीको खातामा रकम ट्रान्सफर गरेको प्रहरीले पत्ता लगायो ।
दुर्गा पासवानले तत्कालै ग्लोबल आईएमई बैंकमा अञ्जली यादवको खाता र ९७१३१९७२३८ नम्बरको इसेवाको खातामा रकम ट्रान्सफर गरेको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगायो ।
सो नम्बरको ईसेवाबाट एनआईसी एसिया बैंकमा रहेको आकाश कोटलको खातामा रकम ट्रान्सफर भएको थियो । बैंकसँग समन्वय गरी प्रहरीले खाता रोक्का गरे पछि केही खातावाल प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।
घटना हुने बित्तिकै अनुसन्धान अघि बढाएका कारण खातामा जम्मा भएको पैसा निकाल्न नपाएको प्रहरीको भनाई छ ।
प्रहरीले खाता बन्द गरिदिएपछि अञ्जली यादव र आकाश कोटलले आफ्नो खातामा ट्रान्सफर भई आएको रकम क्रमशः १ लाख ८८ हजार र १७ हजार ठगीमा परेका गौतमलाई फिर्ता गरेको इप्रका अनारमनीका प्रमुख डीएसपी श्रेष्ठले बताए । बाँकी रकम कुन कुन खातामा ट्रान्सफर भएको छ खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको सक्रियताका कारण आफ्नो केही रकम फिर्ता आएको भन्दै गौतमले खुसी व्यक्त गरे ।
अनलाइन मार्फत ठगिएको भन्दै हालसम्म इलाका प्रहरी कार्यालय बिर्तामोडमा ११३ वटा उजुरी परेको प्रहरीले जनाएको छ । उजुरीमा १ करोड २७ लाख ७४ हजार ४७५ रुपैयाँ ठगी भएको र सो मध्ये ३५ लाख ४२ हजार ९१७ रुपैया फिर्ता गराउन सफल भएको प्रहरीले जनाएको छ ।