आजदेखि झापामा ४७९७ जना निर्वाचन प्रहरीका लागि निवेदन माग
बिर्तामोड । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि झापामा निर्वाचन प्रहरीको भर्ना खुलेको छ । निर्वाचन प्रहरीका लागि आजदेखि माघ १ गतेसम्म निवेदन दिन निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति झापाले आह्वान गरेको हो ।
समितिले बिहीबार एक सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी, बल नेपालका लागि झापामा ४७९७ जना निर्वाचन प्रहरीको कोटा तोकिएको छ ।
दरखास्त फाराम पाउने र बुझाउने स्थानहरु जिल्ला प्रहरी कार्यालय झापा वा सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेक्वा, झापा तोकिएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक योग्यता र प्राथमिकताका आधारहरुमा नेपाली नागरिक भएको, १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० किलो र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च उचाई र ४२ किलो तौल भएको, गर्भवती नभएको/नरहेको हुनुपर्नेछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सेवानिवृत्त कर्मचारी, गत माघ १ गतेदेखि यो पुष मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न पदमा भर्नाका लागि दरखास्त दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण भएकाहरु, यस अघि म्यादी प्रहरीमा भर्ना भएर सन्तोषजनक काम गरेकाहरु र विदेशी मित्र राष्ट्रहरुको सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकाहरुलाई प्राथमिकता दिइने समितिले जनाएको छ ।