पूर्वमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा
झापा । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता लेखकले आयोगले सोधपुछका लागि बोलाएको र आफूले जाने निर्णय गरेको जानकारी दिए ।
‘आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ, र मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।
उनका अनुसार आयोगले भोलि (शक्रबार)का लागि बोलाएको भए पनि समय व्यवस्थापनका कारण आफूले १४ गते जाने जानकारी गराएको बताए ।
आयोगमा जाने विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भयो कि भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे कुनै कुराकानी नभएको बताए । ‘यो विषयमा छलफल भएको छैन, मैले जाने निर्णय गरेको छु,’ उनले भने ।
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउनु कानुनसम्मत नहुने बताएका थिए । ओलीले आफू बयानमा नजाने आडन कायमै राखेका छन् ।