आज इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
बिर्तामोड । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज नेपालका इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए ।
यस दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
क्रिसमस डेका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन् ।