निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिर्तामोडमा बैंक, वित्तीय संस्था तथा बिमकका कर्मचारीसँग निर्जीवन बीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
निर्जीवन बीमा सम्बन्धि जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कोशीको आयोजना तथा नेपाल बीमा प्राधिकरण कोशीको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । निप्सका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बीमा कम्पनीका सिमा, सर्त र सुविधाका बिषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । बीमा गर्ने समयमा कम जोखिम बहन गर्ने गरी बिमाङ्क कम गरेर गर्दा जोखिम परेको अवस्थामा समस्या हुने बताउँदै त्यस तर्फपनि बिमितको ध्यान जानु पर्नेमा जोड दिए ।
कार्यक्रमलाई नारायण गौतमले सहजीकरण गरेका थिए । बीमा सम्बन्धि यस प्रकारको कार्यक्रम कोशी प्रदेश मै पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विद्यमान निर्जीवन बीमाका विविध समस्या , जिज्ञासा र कानुनी प्रावधानका बिषयमा अन्तरक्रिया भएको थियो ।
सहभागीहरुले बीमा दाबी भुक्तानी झण्झटिलो र लामो हुने गरेको गुनासो गरेका थिए । बैंकिङ प्रक्रियामा बीमा अपरिहार्य भएपनि बीमा वास्तविक सम्पत्तिको नगराई ऋण लिएको रकम बराबरको मात्र गराउने भन्दा कुल सम्पत्तिको बीमा गराउनु आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले धारणा राखे ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिति देवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स कोशी प्रदेश प्रमुख मुरारीप्रसाद सुवेदी, नेको इन्स्योरेन्स कोशी प्रदेश प्रमुख सरोज पोखरेल, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कोशी प्रदेश प्रमुख धना भट्टराई, लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
सलिको बिर्तामोड शाखा प्रमुख चन्द्रप्रकाश बास्कोटाले स्वागत गरेको कार्यक्रम निप्सका सचिव प्रकाश पोख्रेलले गरेका थिए ।