२०८३ बैशाख १८ गते , शुक्रबार
छतबाट खसेर नोबेल अस्पतालमा डाक्टरको मृत्यु
बिर्तामोड । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुन्।
पाँचौँ तलामाथिबाट भुइँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो।
तर उपचारकै क्रममा आइतबार बिहानै उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए। यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।