निवर्तमान आइजिपी खापुङलाई काठमाण्डौ छाड्न रोक
बिर्तामोड । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्र कुबेर खापुङलाई काठमाडौँ छाड्न रोक लगाइएको छ । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले आज एक विज्ञप्ति जारी गर्दै काठमाण्डौ छाडेर बाहिर जान रोक लगाएको हो ।
आज रातिबाट अवकाशमा गएका खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने भन्दै काठमाण्डौं छाड्न रोक लगाएको हो ।
'आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुडलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजै देखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,' विज्ञप्तिमा उल्लेख छ ।