इलामका विपद् प्रभावितलाई आवास निर्माणका लागि रकम निकासा
बिर्तामोड । असोज १८ गते इलाममा आएको भारी बर्षाका कारण बाढी पहिरो गई घरबार विहीन बनेकाहरुलाई अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरेको हो ।
पहिलो किस्ता बापतको रकम विपद् व्यवस्थापन कोष इलामको खातामा प्राधिकरणले निकासा गरेको हो । प्राधिकरणले प्रति परिवार २५ हजारका दरले ५२ लाख २५ हजार रकम निकासा गरिसकेको लेखा अधिकृत तुलसीराम बस्नेतले जानकारी दिए । प्राधिकरणबाट प्राप्त भएको सो रकम लाभग्राहीको खातामा आगामी आइतबार जम्मा गरिने जिल्ला प्रशासन कार्यालय इलामका लेखापाल ललिबुङ्ग लामिछानेले जानकारी दिए ।
प्राधिकरणले सूर्योदय नगरपालिकाका ४७, इलाम नगरपालिकाका १०८, माङ्सेबुङ गाउँपालिकाका १० र सन्दकपुर गाउँपालिकाका ४४ गरि २०९ परिवारको लागि रकम निकासा गरेको जनाएको छ । प्राधिकरणका अनुसार दोस्रो किस्तामा थप २५ हजार उपलब्ध हुनेछ ।