बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा शुरु

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा आज (बुधबार)देखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि १२ घण्टे इमर्जेन्सी सेवा सुरु भएको हो ।
बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार बिहान ओपिडी सेवापछि बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ ।
अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने छ ।
नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडी सेवा दैनिक उपलव्ध छ ।
यसैगरी भिडियो एक्स-रे, एक्स-रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ ।
२४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
हाल १५ शैयाको नगरअस्पताललाई स्तरोन्नतीको लागि भवन निर्माणको काम धमाधम भईरहेको छ । १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा भवन निर्माणको काम भईरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगरअस्पताल २५ शैयाको हुनेछ ।