झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतमाथि रकम अपचलनको आरोप

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतमाथि गम्भीर आरोप लगाइएको छ । गोल्डकपमा वरिष्ठ उपाध्यक्ष तथा आगामी नेतृत्वका लागि अध्यक्षका उम्मेदवार बलराम कार्कीले अध्यक्ष बस्नेतले रकम अपचलन गरेको आरोप लगाएका हुन् ।
बरिष्ठ उपाध्यक्ष कार्कीले आज एक विज्ञप्ति जारी गरी झापा गोल्डकपका लागि स्वदेश तथा विदेशबाट फुटबलप्रेमीहरुले अथाह साथ र माया दिएको तर अध्यक्ष बस्नेतले त्यसलाई अपारदर्शी बनाएको उनले आरोप लगाएका छन् । कार्कीले सो अपारदर्शीताका कारण अख्तियारमा मुद्धा परेको र सो बिषयसमेत बोर्डमा लुकाएर राखेको पाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कार्कीले झापा गोल्डकपलाई दाताहरुले दिएको सहयोग रकम हिसाबमा नदेखाएको, गोल्डकपलाई अपारदर्शी बनाएको, अत्यधिक खर्च देखाएर हिसाब मिलान गरेको जस्ता गम्भीर आरोप लगाएका छन् । झापा गोल्डकपको इतिहासलाई सिध्याउन अध्यक्ष बस्नेत जिम्मेवार रहेको भन्दै कार्कीले यसको जिम्मेवारी अध्यक्ष बस्नेतले लिनु पर्ने बताएका छन् ।
यता अध्यक्ष बस्नेतले आफुले गोल्डकप सम्पन्न गराउन अहोरात्र खटेको नदेखेको तर कपोकल्पित भ्रामक हल्ला फैल्याएर आफ्नो मानहानी गरेको बताएका छन् । उनले अख्तियारमा उजुरी परेका बिषय आफुलाई जानकारी नभएको बताउँदै कार्की विरुद्ध मानहानीमा कानुनी उपचारमा जाने बताए ।
उम्मेदवारी फिर्ता
झापा गोल्डकपको शुरुवातदेखि ६ वटा संस्करण सम्पन्न गराउन उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेको र आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएको तर झापा गोल्डकपको बिरुद्धमा अख्तियारमा मुद्धा परेको बिषय भर्खरै आफुले जानकारी पाएकाले निर्वाचन प्रक्रियामा आफु सहभागी नहुने कार्कीले जनाएका छन् ।