एपीएफलाई ११ हजार जरिवाना
बिर्तामोड। सशस्त्र प्रहरी बल नेपालको विभागीय फुटबल टिम एपीएफ फुटबल क्लबलाई जरिवाना गरिएको छ । अर्ना छैटौँ झापा गोल्डकपमा एपीएफले खेलको नियम उल्लङ्घन गरेको भन्दै झापा गोल्ड कपले जरिवाना गर्ने निर्णय गरेको हो।
एपीएफले झापा गोल्डकपको तेस्रो दिन भएको खेलमा प्रतियोगिताको नियमावली १० को प्रावधान बमोजिम खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेको र जसका कारण फुटबल खेलको मर्यादा तथा झापा गोल्ड कपको गरिमामा आँच पुगेको भन्दै जरिवाना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगिता नियमावली को दफा २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपीएफलाई कारबाही गरिएको झापा गोल्डकपले जनाएको छ।
नगद जरिवाना सँगै एपीएफलाई भविष्यमा यस्तो गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता समेत माग गर्ने झापा गोल्ड कपाले निर्णय गरेको अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।
झापाको डोमालाल रङ्गशालामा सोमबार भएको बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी अभावमा मार्करले लेखेर खेल खेलेको थियो । जसको यतिबेला सामाजिक सञ्जालहरुमा चौतर्फी आलोचना भइरहेको छ ।