कमल नगर अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

बिर्तामोड । झापाको कमल नगर अस्पताललाई अमेरिकास्थित हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलप्मेन्ट नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।उक्त संस्थाले वर्क फर नेपाल मार्फत करिब ५० लाख मुल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
गाउँपालिकाद्वारा सञ्चालित सो अस्पताललाई दोश्रो पटक सो संस्थाले बुधबार कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुको प्रमुख उपस्थितीमा सर्जिकल तथा प्रयोगशालासँग सम्बन्धित २०० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
ती सामग्री गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेसु डा. फुलकचन्द्र लावतीलाई हस्तान्तरण गरेका छन । सोही अवसरमा मन्त्री लिम्बु र हेल्पीङ हेण्डका नेपालस्थित कार्यक्रम प्रमुख जिवप्रसाद पोखरेलले संयुक्त रुपमा अस्पताल परिसरमा जडान गरिएको खानेपानी प्लान्टको समेत उदघाटन गरेका छन । प्लान्टबाट वितरित पानी पिएर उनीहरुले सोको उद्घाटन गरेका हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बुले स्वास्थ्य र खानेपानी दुवै संविधानमा उल्लेखित नागरिकको मौलिक हक भएकोले सरकार यसप्रति संवेदनशील रहेको चर्चा गरिन । उनले वर्क फर नेपाल र दाता संस्था हेल्पिङ हेन्डले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गरेको सहयोगको प्रशंसा गर्दै यस किसिमका सहयोगका कार्यक्रमहरु अन्य पहाडी तथा विकट ठाउँहरुमा समेत पुरयाउन आग्रह गरिन । उनले अस्पतालको सेवालाई प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक थप जनशक्तीको पदपूर्ति लगायतका उपकरणहरुको व्यवस्थाका लागि पनि प्रतिबद्धता जनाइन ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पालिकामा पदभार ग्रहणसँगै गरिएको प्रतिबद्धता अनुरुप अस्पतालको बिकास र प्रदान गरिने सेवाको विस्तारलाई अघि बढाउन हेल्पिङ हेन्ड र वर्क फर नेपालले गरिरहेको योगदानको प्रशंसा गरे । उनले यस किसिमका सहयोगले नागरिकहरुको सेवामा अझ बढी जिम्मेवार बनेर लाग्न उत्साह मिलेको पनि उल्लेख गरे ।
अध्यक्ष राईले कमल गाउँपालिकाबासीलाई स्थानीयस्तरमै सम्भव भए सम्मको उपचार सेवा प्रदान गर्न र स्वास्थ्य बीमा कार्यक्रम ९ महिनाको अवधिमा सुचारु गर्न सफल भएको चर्चा गर्दै स्वास्थ्य सेवा स्थानीय सरकारको प्राथमिकताको बिषय हुँदाहुँदै पनि आफनै स्रोतबाट सबै आवश्यकताको परिपूर्ती नहुने भएकाले माथिल्लो तहका सरकार र दाता संस्थाहरुको सहयोग अपरिहार्य भएको बताए ।
कार्यक्रममा हेल्पीङ हेण्डका नेपालस्थित कार्यक्रम प्रमुख पोखरेलले यसअघि कमल नगर अस्पताललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीको उपयोगिता बढीनै भएकाले संस्थाले पुनः दोश्रो पटक यस किसिमको सहयोग उपलब्ध गराउन उचित ठानेको बताए ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पनि वर्क फर नेपाल र हेल्पिङ हेन्डले गरेको सहयोगको प्रशंसा गरिन ।
वर्क फर नेपालले जिल्लाका अन्य पालिकाहरु झापा गाउँपालिका, बाह्रदशी, शिवसताक्षी लगायतका विभिन्न पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय झापामा १ करोड ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्ने काम भइरहेको छ । सो संस्थाले विशेष गरी शुद्ध पिउने पानीका लागि बिद्यालय तथा सार्वजनिकस्थलहरुमा जडान गरेको खानेपानी प्लान्टले सर्वसाधारणमा शुद्ध पिउनेपानीकाे पहुँच बढाएकाे उपभोक्ता हरुले बताएका छन्।