२०८० जेष्ठ १६ गते , मंगलबार

बिर्तामोडमा ‘प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ३१ गते , आईतबार
बिर्तामोडमा ‘प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुने

बिर्तामोड । झापाको बिर्तामोडमा कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ ६ गतेदेखि बिर्तामोडको डोमालाल रंगशालामा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताआयोजना हुन लागेको हो ।

बिर्तामोड नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा १७ वटा टिमले नाम दर्ता गराइसकेको खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । टिम दर्ता गर्ने समय अझै बाँकी रहेकाले टिमको संख्या अझ बढ्न सक्ने उनले बताए ।

प्रतियोगिताको बिजेता टिमलाई १ लाख, दोस्रोलाई ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक बेदप्रकाश (विशाल) अग्रवालले जानकारी दिए । यसैगरी खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैंयाँ, बेस्ट ब्याट्स म्यान र बेस्ट बलरलाई जनही ५ हजार १००, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार १०० रुपैंयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगितामा हिट बोर्डको ब्यवस्था गरी बिभिन्न आकर्षक पुरस्कार प्रदान गर्ने तयारी रहेको सचिव विसन लिम्बुले जानकारी दिए ।

आयोजकले प्रतियोगिताको फाइनल खेल राती आयोजना गर्ने तयारी गरेको छ । जसका लागि फ्लड लाईट जडान गरिने बताइएको छ । प्रतियोगितामा बिर्तामोड घर भएका राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल टिमका खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ ।

जेठ ७ गते समापन हुने प्रतियोगितामा कुटुम्ब ब्याण्डको प्रस्तुती रहने छ । प्रतियोगिताको हस्पिटालिटी पार्टनर बिर्तामोडको ग्राण्ड प्यासिफिक होटल रहेको र गरिमा मल्टिपर्पोज र ओम काष्टिङ उद्योग प्रालि लगायतले प्रायोजन गरेको अग्रवालले जानकारी दिए ।

सम्बन्धित समाचार