२०८० जेष्ठ १६ गते , मंगलबार

किन आउँछ छालामा डाबर?

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २८ गते , विहीबार
किन आउँछ छालामा डाबर?

छालामा डाबर आउने समस्या धेरैजसो एलर्जीकै कारण हुन्छ । कुनै पनि खानेकुरा, औषधि, संक्रमणले हुन सक्छ । डाबर आउने समस्या यही कारणले नै हुन्छ भन्ने छैन । यो समस्या व्यक्ति अनुसार फरक पर्छ । ६ हप्तासम्म डाबरको समस्या भए अक्युट अर्टिकारियाभनिन्छ । यो समस्या धेरैजसो संक्रमणकै कारण हुन्छ । तर कसैलाई ६ हप्ताभन्दा बढी पनि डाबर आउने समस्या हुन्छ । ६ हप्ताभन्दा बढीसम्म डाबर आउने समस्या भए यसलाई क्रोनिक अर्टिकारियभनिन्छ । 

यो समस्या भए कारण थाहा पाउन निकै गाह्रो हुन्छ । क्रोनिक अर्टिकारिया भए कहिले काँही कारण थाहा नपाउँदा मधुमेह र रक्तचापमा जस्तो जीवनभर औषधि खानुपर्ने हुन सक्छ । सबै डाबरको समस्या निको हुँदैन । कसैलाई यो समस्याले निश्चित समय वा जीवनभर सताइरहन सक्छ । पाँच वर्ष, दश वर्ष वा जीवनभर औषधि खानुपर्ने हुन सक्छ । कसैलाई तातो, चिसो, हावा, पानी, बोट विरुवा जे कुराले पनि डाबरको समस्या हुन सक्छ ।

चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन । छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन । धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ ।

लुतो एलर्जी होइन । जनै खटिरा निको भएपछि दुख्छ । तर कसैलाई निको भएपछि पनि चिलाउँछ । छाला सुख्खा भएपनि चिलाउँछ । वृद्धवृद्धा अवस्थामा पनि छाला चिलाउँछ ।बाहिरी कारणसँगै शरीर भित्रको कारणले पनि छाला चिलाउँछ । मधुमेह, थाइराइड, रगत बढी या कम भए, क्यान्सर, मिर्गौला रोग, डायलाइसिस भएपछि र गर्ने बेला पनि छाला चिलाउँछ । रगत क्यान्सर भएका बिरामीमा झन् धेरै नै चिलाउँछ । चिलाउने कारणहरु सीमित छैनन् । छाला चिलाउनुको कारणहरु धेरै नै छन् । तर सबै चिलाउने समस्या एलर्जीका कारण हुँदैन ।

केही व्यक्तिहरुले चिलाउने समस्याबाट बच्न स्टेरोइड ट्याबलेट खाने गर्छन् । चिकित्सकको सल्लाह बिना खाने यस्ता औषधिले चिलाउने कम होला नहोला तर अर्को रोग निम्त्याउँछ । स्टेरोइड औषधिले मोटोपना बढ्ने, रक्तचाप, मधुमेह, डण्डीफोर आउने, हड्डी कमजोर हुने, रगत जम्ने जस्ता समस्याहरु निम्त्याउँछ । कुनै पनि औषधि चिकित्सकको सल्लाह र प्रेसक्रिप्सन बिना खानु हुँदैन । चिलाउने, डाबर आउने समस्या भए छाला रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ ।

प्रा.डा. भास्करमोहन कायस्थ पाटन अस्पतालका प्रमुख कन्सल्टेण्ट छाला रोग विशषेज्ञ हुनुहुन्छ ।

सम्बन्धित समाचार