स्थापना दिवसको अवसरमा शिक्षक संगठनद्वारा झापाली शिक्षक सम्मानित

बिर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले चार जना शिक्षकलाई अभिनन्दन गरेको छ । ४४औं स्थापना दिवसको अवसर पारेर बुधबार संगठनले उनीहरुलाई सम्मान गरेको हो ।
अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई, संगठनका पूर्व जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, पूर्व कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी र जिल्ला कमिटी सदस्य कमला शिवाकोटीलाई संगठनले सम्मान गरेको थियो ।
त्यसैगरी झापाका १५ पालिकाबाट दुई दर्जनबढी शिक्षकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो भने वर्षभरिमा निवृत्त भएका दर्जनौ शिक्षकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । संगठनका झापा जिल्ला अध्यक्ष द्रोणबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि संगठनका राष्ट्रिय उपाध्यक्ष सूर्यप्रसाद दाहाल, संगठनका पूर्व केन्द्रिय सचिव हरिचरण बानियाँ, पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, डम्बरबहादुर देउजा, शिक्षा समन्वय इकाइका प्रमुख राजकुमार विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अभिनन्दित हुनेहरूको तर्फबाट धर्मेन्द्र भट्टराई र कृष्णप्रसाद अधिकारीले आ–आफ्नो धारणा गरेका थिए । संगठनका झापा जिल्ला अध्यक्ष तारादेवी विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लम्बोदर पौड्यालले गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनले हरेक वर्ष चैत्र २९ गतेलाई संगठनको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।