२०८० जेष्ठ १६ गते , मंगलबार

सहारा हाफ म्याराथनको तयारी पूरा, अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रापनि दौडिने

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २० गते , सोमबार
सहारा हाफ म्याराथनको तयारी पूरा, अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रापनि दौडिने

बिर्तामोड । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ ।

आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्रयाक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ ।

त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त सहारा हाफ म्याराथन झापामा पहिलोपटक हुन लागेको हो ।

नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।

संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोकप्रभुचोकसांगवेद स्कुलओमचोककुशलचोकअर्जुनधाराधामवरपीपलचोकमिलडाँडाप्रगतिटोलभाङबारीतामाङचोकरातेखालबिरिङ खोलाको कज्वेपानीकललक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने

सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् ।

त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने छिन् ।

भण्डारीले प्रथम बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्दै १३ औँ सागको टाइमिङ तोडेकी थिइन् ।

उनले सागमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेन्डले सुधार गरेकी हुन् । उनले सन् २०२२ को सोही म्याराथनमा भने कास्य पदक जितेकी थिइन् ।

श्रेष्ठले पोखरामा २ घण्टा ५७ मिनेट २३ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेकी थिइन् । बिन्द्रा सो बेला पहिलोपटक राष्ट्रिय खेलकुदको म्याराथनमा सहभागी भएकी थिइन् ।

उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्धा गर्दै आएकी थिइन् । लामो समयदेखि ट्र्याक एन्ड फिल्डमा सक्रिय रहेकी बिन्द्राकी ९ वर्षीय छोरीसमेत छिन् । उनी बंगबन्धुमा तेस्रो भएकी थिइन् ।

प्रतियोगितामा भेट्रान्स कीर्तिमानी धावक धर्म महर्जन पनि सहभागी हुने भएका छन् । ५० वर्षीय उनी हाफ म्याराथनमा सहभागी हुने भएका हुन् ।

यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु रघुराज वन्त, डम्बर कँवर, मेनुका राउत र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपानेमा अन्य खेलाडीसँगै अप्रतियोगीका रुपमा केही समय दौडिने छन् । उनीहरुलाई प्रतियोगिताको समापन कार्यक्रममा सम्मान पनि गरिनेछ ।

मानन्धर लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् । उनले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेटको रेकर्ड अझै पनि कसैले तोड्न सकेको छैन ।

वन्तले सन् १९८० को मस्को ओलम्पिक, कुँवर र राउतले सन् १९८८ को सिओल ओलम्पिकमा सहभागिता जनाएका थिए ।

त्यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गर्दै दोस्रो स्थान हाँसिल गरेका थिए ।

सम्बन्धित समाचार